स्याङ्जा : स्याङ्जामा गए राति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते भएका चालकको गए राति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । भ्यानमा चालकसहित चार जना सवार थिए । सहचालक पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने २३ वर्षीय राधेश्याम बस्यालको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना अधिकारी पौडेलले बताए ।