सर्लाही : महाशिवरात्रिको अवसरमा सर्लाहीको हरिपुर नगरपालिका–७, स्थित लक्ष्मीनाथ महादेव मन्दिर चिताइनमा भक्तजनले भान्टाको भार चढाएका छन् ।
मुसालगायत चर्म रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रिको दिन चिताइन मन्दिरमा भान्टाको भार चढाउने प्रचलन रहेको छ । त्यस्तै चिताएको भाकल पूरा हुने विश्वासका साथ परालले बाँधेको धानको मटका (मौर) चढाउने भक्तजनको पनि उत्तिकै घुँइचो लागेको छ ।
जिल्लाको प्रमुख ऐतिहासिक एवं धार्मिक स्थल चिताइन मन्दिरमा भान्टाको भार र धानको मौर चढाउन सर्लाही जिल्लाभरसहित छिमेकी जिल्ला र भारतबाट समेत श्रद्धालु आउने गरेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए । चिताएका कुरा पूरा हुने हुनाले चिताइन मन्दिर भनिएको जनविश्वास छ ।
जिल्लाका अन्य ठाउँका शिव मन्दिरको तुलनामा चिताइन मन्दिरमा भक्तजनको बढी नै भीड देखिन्थ्यो । भक्तजनको अत्यधिक भीड लागेका कारण नेपाल प्रहरी र आयोजक समितिका स्वयंसेवकलाई बुधबार दिनभर भीड व्यवस्थापनमा हम्मेहम्मे परेको थियो ।
पछिल्लो समय मन्दिरको जिर्णोद्धार गरिएसँगै श्रद्धालुलाई पूजाआर्जन गर्न र आयोजकलाई भीड व्यवस्थापनमा सहज हुँदै गएको हरिपुर नगरपालिका ७ चिताइनका वडाध्यक्ष मनोजकुमार चौधरीले बताए । महाशिवरात्रिकै अवसर पारेर चिताइनमा बुधबार ऐतिहासिक मेला समेत सुरु भएको छ । मेलाको अवसरमा मधेश प्रदेश स्तरीय भलिवल प्रतियोगिता समेत हुने बताइएको छ । मेला २१ गते सम्म सञ्चालन हुने वडाध्यक्ष चौधरीले बताए ।
यो मेला तीनसय वर्षअघिदेखि लाग्दै आएको स्थानीय चेतनारायण धामी दावी गर्छन् । पहिले पहाडी जिल्लाहरुबाट समेत मानिसहरु नुन, फलामसहित अन्य सरसामग्री किन्न चिताइन मेलामा आउने गरेको स्थानीय बताउँछन् ।
अहिले गाउँ–गाउँमा बाटो लगायत अन्य सुबिधा पुगेकाले पहाडी जिल्लाबाट मानिसहरु आउन छाडेको स्थानीय अजय चौधरीले जनाए । महाशिवरात्रिकै अवसरमा जिल्लाको लालबन्दीस्थित डुमडुमे, हरिवनस्थित कैलाशपुरी र सुखेपोखरी, इश्वरपुरस्थित सागरनाथ, मूर्तियास्थित मुक्तेश्वरसहित जिल्लाभरका शिव मन्दिरमा शुक्रबार दिनभर दर्शनार्थीको घुँइचो लागेको स्थानीयले बताएका छन् ।