लिस्बन : स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैठौं समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहकाबीच राजदूत नेपालले राजा छैठौं समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केहीबेर छुट्टै शिष्टाचार भेटवार्तासमेत गरेका थिए । भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा राजदूत नेपालले नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराउनुका साथै जलवायु परिवर्तनका कारण देखा परेका समस्या र वातावरणीय चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यक रहेको उल्लेख गरेका थिए ।
त्यसैगरी नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाउँदै राजदूत नेपालले राजा फिलिपलाई नेपाल भ्रमणका लागि अनुरोध गरेका थिए । जवाफमा राजा फिलिप छैठौंले आफूले धेरै अगाडि नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका राजदूत नेपालले जानकारी दिए ।
राजाले नेपालप्रति विशेष सद्भावका साथ चासो व्यक्त गरेका र नेपालको विषयमा खुलेर कुरा गरेका उनले बताए । सो अवसरमा राजदूत नेपाललाई बधाई ज्ञापन गर्दै राजा छैठौंले सफल कार्यकालको शुभकामना समेत दिएका थिए । यसअघि राजदूत नेपाललाई प्यालेस डे सान्ता क्रुजमा स्वागत तथा सम्मान गरिएको थियोे । त्यस अवसरमा नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । यस्तै राजदूत नेपालले परराष्ट्र मन्त्रालयका दक्षिण तथा पूर्व एसिया हेर्ने उपमहानिर्देशकसँग समेत छोटो भेटवार्ता गरेका थिए ।
उक्त समारोहमा राजदरबारका प्रोटोकल प्रमुख, परराष्ट्र मन्त्रालयका अधिकारीहरु, नेपाली दूतावासका कर्मचारीहरु र स्पेनिस सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको दूतावासले जनाएको छ । नेपाल र स्पेनका बीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो ।
नेपालले गत महिना म्याड्रिड पुगेर राजदूतको जिम्मेवारी सम्हालेका हुन् । कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर २८ गते राजदूतमा नियुक्त गरेका थिए । यसअघि उनी पोर्चुगलका लागि राजदूतमा नियुक्त भएका थिए ।