२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते

Nada
२०८१ असार १६ गते १३:५६
Shares
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते

एजेन्सी : नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

ncell

घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाकोे आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो ।

स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । 

उनले भने, “पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो । त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो ।”  

बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आइईडी) विस्फोट गराएकी हुन् ।

आत्मघाती आक्रमणकारीले सोही सहरको अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितहरूको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेको डब्लुआईओएनले जानकारी गराएको छ । 

सेमाका महानिर्देशक बेकिन्डो साइदुले बालबालिका, वयस्क र गर्भवती महिलासहित १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

साइदुले गम्भीर घाइते भएका १९ जनालाई क्षेत्रीय राजधानी मैदुगुरी उपचारका लागि लगिएको छ ।

क्यामरूनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा बढी समयदेखि हिंसा हुँदै आएको छ । बोको हरामले सन् २०१४  मा ग्वोजालाई कब्जा गरेको थियो तर त्यसको एक वर्षपछि चाडेली सेनाको सहयोगमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो ।

सम्बन्धित खबर