२०८१ फागुन १६ गते शुक्रवार / Feb 28 , 2025 , Friday
२०८१ फागुन १६ गते शुक्रवार
Ads

तत्काल थाल्नुपर्ने कोर्स

hardik ivf
२०८१ फागुन १६ गते ०६:४५
तत्काल थाल्नुपर्ने कोर्स

संघीय संसदमा केही सांसदहरुले गत दशैं अगाडि परेको अत्याधिक वर्षाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको निर्माण र बिस्थापित मानिसहरुको पुनस्र्थापनाबारे आवश्यक काम हुन नसकेको उनीहरुले बताएका छन् । बढी क्षति पुगेको काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायत क्षेत्रका पीडितहरुले कष्टकर रुपमा हिउँद कटाएको सांसदहरुको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता गुनासो सम्बोधन गर्नेगरी कुनै ठोस् जवाफ दिएका छैनन् । गत १८ माघमा सुरु संसदको अधिवेशन सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लामै सम्बोधन गरेका थिए । तर प्रधानमन्त्रीको सम्बोधनमा बाढी पहिरो पीडितहरुको पुनस्र्थापनाबारे ठोस् प्रगति उल्लेख थिएन । 

बरू प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वको परियोजनाहरू अगाडि बढिरहेको विवरण प्रस्तुत गरेका थिए । सिद्धबाबा सुरूङ मार्गको ब्रेकथ्रू भएको सहित राष्ट्रिय परियोजनाहरु धमाधम अगाडि बढेको प्रधानमन्त्रीले दाबी गरेका थिए । अघिल्ला सरकारका कारणले संकटमा परेको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबीा प्रधानमन्त्री ओलीले गरे । विदेशी लगानी भित्र्याउन, नीजि क्षेत्रलाई प्रोत्साहित गर्न, सेवा प्रवाहलाई चुस्त बनाउन, भूमिहीन सुकुम्बासी दलितहरुलाई भूमि वितरण गर्न अध्यादेशहरु ल्याएको प्रधानमन्त्रीले आफ्नो प्रगती विवरणमा समेटेका थिए । एनआएनको समस्या सम्बोधन गर्नेदेखि भूमिहीनलाई जग्गा दिनसम्म अध्यादेश ल्याउनु परेको तर्क गरेका प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्प पीडितले बिताइरहेको कष्टकर दिनहरुबारे क्षमा मागेनन् । ओलीले मात्र नभएर सरकारको कमजोरी स्वीकार्ने प्रवृत्ति कुनैपनि प्रधानमन्त्री छैन । तर जस लिने होड भने हरेक प्रधानमन्त्रीमा देखिन्छ । 

यदि कमजोरीप्रति गल्ती स्वीकार्ने प्रवृत्ति हुन्थ्यो भने जनताका समस्या सम्बोधनमा सरकारको तदारुकता बढ्न सक्थ्यो । किनकि हरेक प्रधानमन्त्रीमा जनताप्रीत जवाफदेही र उत्तरदायी हुनुपर्ने दबाव सिर्जना हुन्थ्यो । तर त्यस बिपरीत गल्ती जति अघिल्ला प्रधानमन्त्रीलाई दिइने प्रवृत्तिले अझसम्म २०७२ कै महाभूकम्पका पीडितहरुको समस्या पूर्ण हल हुन सकेको छैन । त्यस्ता संस्कारले डेढ वर्ष अगाडिको जाजरकोट भूकम्पबारे उचित ध्यान दिने कुरा भएन । तर लोकतन्त्रमा जनताको समस्या बेवास्ता गरेर हुने राजनीति दीर्घजिवी हुन सक्दैन । गैरजिम्मेवार नेतृत्वको विकल्प जनताले खोज्छन् । त्यसैले वर्तमान नेतृत्वले पनि बेलैमा सतर्कता अपनाउन आवश्यक छ । त्यस्तो सुधारको सुरुवात वर्षा याम अघि नै बाढी पहिरो पीडितहरुको समस्या सम्बोधन गर्नेगरी ठोस् कार्यक्रम मार्फत् गर्न जरूरी छ । 

ADV

सम्बन्धित खबर

Advertise