सन्धिखर्क : सन्धिखर्क नगरपालिका वाड नम्बर ७ खाचिकोटले महिलाहरुलाई मिठो खाना बनाउने तालिम दिएको छ ।
स्थानीयस्तरमै उत्पादन भएको वस्तुबाट कसरी मीठो र स्वास्थ्यकर खानेकुरा पकाउन सकिन्छ भन्नेबारे जानकारी होस् भन्ने उद्देश्यले १० दिने तालिम दिइएको हो ।
वडा नम्बर ७ का वडाध्यक्ष चुराबहादुर केसीले भने, ‘तालिम लिइसकेपछि उहाँहरूले पहिलेभन्दा फरक किसिमले खाना बनाउने तरिका सिक्नु भएको छ । अब त्यो सिकाइ व्यवहारिक रुपमा लागू गर्ने अपेक्षा राखेका छौं ।’
स्थानीय स्तरमा नै उत्पादन भएका वस्तुबाट बिहानको नास्ता, खाना, खाजा बनाएर खुवाउन सक्ने भएको तालिममा सहभागी गिता केसीले बताइन् ।
तालिममा घरेलु उत्पादनलाई कसरी मीठो र स्वादिलो बनाउन सकिन्छ ?, पाहुनाको रुची अनुसार कसरी खानेकुरा बनाउन सकिन्छ ?, खाना बनाउँदा के कुरामा ध्यान दिनुपर्ने रहेछ ?, भन्ने कुरा विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक रुकमिणा पराजुलीले बताइन् ।
स्थानीय स्तरमा नै उत्पादित वस्तुको प्रयोग गरी अझै कसरी खाना पकाउने भन्ने तरिका जानेको तालिममा सहभागी कमला आचार्यले बताइन् ।
तालिमको समापन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले स्थानीय स्तरमा उत्पादन हुने सामग्रीबाट अर्गानिक खाना बनाउने तालिमले स्थानीयलाई आत्मनिर्भर र स्वरोजगार बनाउन मद्दत गर्ने बताए । १० दिनसम्म सञ्चालन भएको तालिममा स्थानीय १६ जनाको सहभागिता रहेको थियोे ।