२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

जनताप्रति उत्तरदायी नभएको मधेश सरकार

hardik ivf
२०८१ फागुन २३ गते ०६:०५
जनताप्रति उत्तरदायी नभएको मधेश सरकार

–नितेशकुमार गुप्ता 

यतिखेर मधेश प्रदेशको नेतृत्वबाट मधेशका जनता आजित छन् । विशेषगरी नेतृत्वले स्टन्टबाजी चलाएर आमनागरिकको ध्यान दिग्भ्रमित बनाउन खोजेको देखिन्छ ।

प्रदेशमा गरिने विकासका कार्यहरूमा भइरहेको ढिलाइ, जनतालाई भइरहेको असुविधा, तस्करहरूको हालिमुहाली बढ्नु, बिचौलियाहरूको बोलवाला हुनु, भ्रष्टाचारीहरू सलबलाउँदै जानुलगायतका विभिन्न अवाञ्छित कार्यलाई रोक्न प्रदेश नेतृत्व पूर्ण असफल देखिन्छ ।

सरकारकै मन्त्रीले आर्थिक लेनदेन गरेर योजनाहरू वितरण गरेको विषय बाहिरिनुले पनि सरकार कति जिम्मेवार छ भन्ने स्पष्ट पार्छ । 

मधेशमा सरकार गठन हुँदै गर्दा जनताले जे–जस्ता अपेक्षा राखेका थिए, ती अपेक्षाहरू केही पनि पूरा हुन सकेनन् । जनताले खोजेका सामान्य एजेन्डाहरू पनि सम्बोधन हुने अवस्था रहेन । यद्यपि, सरकार नेतृत्व जनताका मागप्रति कत्ति पनि संवेदनशील हुन खोजेन । सरकार पूर्ण स्टन्टबाजीमा रमाइरहेको छ भन्दा अतियुक्ति नहोला । यद्यपि, यो भनिरहँदा आग्रह वा पूर्वाग्रह पालेर भनिएको छैन, जसको तथ्य पनि प्रस्तुत गरिएको छ । 

सरकारले भनेझैं किन सिमानाको तस्करी बन्द भएन ? किन निमुखा गरिबहरूले निःशुल्क स्वास्थ्य उपचार पाउन सकेनन् ? बजेट किन कमिसनमुखी बन्यो ? मधेश प्रदेशमा अहिलेसम्म २ प्रतिशत पनि बजेट खर्च नहुनुका मुख्य कारण के हुन् ? मधेश प्रदेशको सुरक्षा व्यवस्था किन कमजोर छ ? मधेशको प्रदेशका सरकारी अस्पतालहरू किन व्यवस्थित हुन सकेनन् ? किन प्रदेश अस्पतालमा, नगर तथा गाउँघरको सरकारी स्वास्थ्य कार्यालयमा औषधिहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् ? 

अहिले कानुनविपरीत निजामती कर्मचारीको सरुवा, बढुवाको चलखेल भइरहेको देखिन्छ । यो आरोप होइन, वास्तविकता हो । यसका थुप्रै तथ्य बाहिरिएका छन् । आज पनि मधेश प्रदेशमा दाइजो प्रथाका कारण दिन प्रतिदिन हाम्रा चेलीहरू अनाहकमा ज्यान किन गुमाउन बाध्य छन् ? के अहिलेको सरकारले चेलीहरूको सुरक्षाको सन्दर्भमा भनेको भनाइ पूरा गरेको छ त ?

मधेश प्रदेशमा किन राजस्व छलीका घटना बग्रेल्ती छन् ? किन राजस्व उठ्न छाडेको छ ? किन मधेश प्रदेश सरकारले अहिलेसम्म गरेको काम कर्तव्यको प्रगति प्रतिवेदन सार्वजनिक गरेन ? सरकारले तत्कालै पूरा गर्ने भनेको गरिब, दीनदुखी, कमजोर आय भएका कमैयाहरू किन अझैसम्म पनि समस्यामा छन् ? त्यसको व्यवस्थापन कहिले र त्यसको पूर्ण स्थापना कहिले हुन्छ ?

मधेश प्रदेशमा किसानहरूले किन सधैं रासायनिक मल खाद्यको समस्या झेल्नुपर्छ ? मधेश प्रदेश सरकारले खेतीयोग्य जग्गाहरूमा किसानहरूका लागि सिँचाइ व्यवस्थापन किन गरिरहेको छैन ? मधेशमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने तर अझै गाउँघरमा बसोबास गर्ने नागरिकहरू शुद्ध खानेपानीबाट किन बञ्चित छन् ? के यो प्रश्नको जबाफ अहिलेको सरकारले दिन सक्छ ?

आजभोलि गरिबहरूले सजिलोसँग बैंकबाट ऋण पाइरहेको छैनन् । त्यसको व्यवस्थापन गर्ने उपाय यो सरकारसँग देखिन्नँ । मधेश प्रदेशमा अलपत्र रहेका योजनाहरूलाई सम्पन्न गर्ने उपाय यो सरकारसँग देखिन्नँ ।

यो सरकारलाई प्रश्न छ, मधेश प्रदेशमा विश्वविद्यालय र गुणस्तरीय विद्यालयहरू कहिले बनाउने हो ? मधेश प्रदेशमा निष्पक्ष प्रतिस्पर्धा नगराई कमिसनको चलखेल गरेर विभिन्न राजनीतिक पदहरूमा नातावाद, कृपावादबाट  नियुक्ति गर्ने परिपार्टी कहिले अन्त्य होला ? मधेश प्रदेशभित्र सरकारी डाक्टर, कर्मचारीहरूले आ–आफ्ना निजी प्राइभेट अस्पतालहरू संचालन गरेकाहरूमाथि कारबाही गरी पदमुक्त कहिले गर्ने हो ? मधेश प्रदेशका सबै जिल्लालाई समृद्ध घोषणा कहिले गर्ने हो ? 

जनताले यो सरकारप्रति धेरै प्रश्न उठाएका छन् । तर, जनताका प्रश्नहरूको जबाफ सरकारले दिने ल्याकत राख्ने देखिन्नँ । त्यो इमान्दारी पनि सरकारबाट प्रस्तुत भइरहेको देखिन्नँ, जुन मधेश र मधेशी लागि विडम्बनाको विषय हो ।

(गुप्ता नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise