वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्न आन्तरिक रोजगारीमा वृद्धि गर्ने लक्ष्यसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यही २५ र २६ फागुनमा काठमाडौंमा रोजगार सम्मेलन गर्ने तयारी पूरा भएको बताएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ ।
पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न क्षेत्रका ५०० जना उक्त सम्मेलनमा सहभागी रहने जानकारी दिए । मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ साल गरी ४ पटक जगार सम्मेलन गरिसकेको छ । सम्मेलनमा रोजगारी सिर्जनासँग सम्बन्धित तीनै तहका सरकार, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विषय विज्ञ, विकास साझेदार, निजी क्षेत्र, ट्रेड युनियन, गैरसरकारी क्षेत्रका विज्ञलाई सहभागी गराउने तयारी रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मन्त्री भण्डारीले यसअघि मन्त्रालयले गरेको रोजगार मेला र रोजगार सम्मेलनको प्रकृतिमा व्यापक अन्तर रहेको दाबी गर्दै सम्मेलनमार्फत प्राप्त सुझाव र पृष्ठपोषण मन्त्रालयले मनाउने घोषणा गरेको १० वर्षे आन्तरिक रणनीतिक योजनामा पनि समावेश गरिने बताए ।
सम्मेलनमा वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा रहेका चुनौतीहरूको विश्लेषण गरी नीतिगत सुधार र कानुनी व्यवस्थाहरूमा परिमार्जनका लागि सुझाव लिई रोजगारयोग्य वातावरण सिर्जना गर्ने विषयलाई बढी केन्द्रित गर्ने मन्त्रालयले बताएको छ । सम्मेलनका लागि श्रम सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा मूल समारोह समिति बनाइएको छ । रोजगारी सिर्जनामा निजी क्षेत्रको मुख्य भूमिका हुने भए पनि आन्तरिक रोजगारी प्रवर्द्धनमा ३ तहका सरकार, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारीबाट फर्केका कामदार र उनीहरूले प्राप्त गरेको ज्ञान, सीप, पुँजी तथा प्रविधिको उपयोगलगायतका विषयमा छलफल गरी रोजगार नीतिमा समय सापेक्ष परिष्कृत गर्न जरुरी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले नेपालको रोजगारीको क्षेत्रमा संकुचन देखापरेको उक्त संकुचन समाधान, आगामी दिनहरूमा देखापर्ने नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल होटल संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुन–चाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूको सहभागिता रहने छ ।