नेपाल राष्ट्रिय व्यवसायी महासंघमा १० हजार भन्दा धेरै साना तथा मझौला उद्योगी व्यवसायी सदस्य रहेका छन् । तर, अर्थतन्त्रलाई चलायनमान बनाउने विषयमा महत्वपूर्ण भूमिका खेल्ने साना तथा मझौला उद्यमी व्यवयायीहरू घट्दो व्यापारको कारण चिन्तामा छन् । केही व्यवसायी पेसाबाट समेत विस्थापित हुँदै गएका छन् । साना तथा मझौला व्यवसायको अवस्थाको विषयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालसंग मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् ।
पछिल्लो समयमा साना तथा मझौला व्यवसायीको अवस्था कस्तो छ ?
अहिले यो व्यवसाय क्षेत्र निकै नाजुक अवस्थामा छ । नेपालमा खर्च गर्ने युवा जनशक्ति पलायन हुँदा अर्थतन्त्र नै राम्रोसँग चल्न सकेको छैन । युवा पुस्ताले नै हो खाने, लगाउने, घुम्ने । सोही पुस्ता देशमा नहुँदा त्यसको असर सम्पूर्ण व्यापार व्यवसायमा परेको छ ।
आम नागरिक नै देशमा बस्न नचाहेपछि साना तथा मझौता उद्यम गर्ने र व्यवसाय गर्नेहरू समेत हतोत्साहित भएका छन् । अहिले उद्योग धन्दा कलकारखाना ४० प्रतिशत भन्दा कम क्षमतामा चलिरहेका छन् । उत्पादन भएको बिक्री भए मात्र उत्पादन बढ्ने हो तर, उपभोक्ता नै नहुँदा मागमा नै समस्या सिर्जना भएको छ । अहिले बजारमा हेर्ने हो भने सटरमा व्यवसाय गर्नेहरू समेत पलायन भइरहेका छन् जसको कारण धेरै सटर खाली देखिन्छन् ।
सना तथा घरेलु व्यवसायीले भोग्नु परेका खास समस्या कस्ता छन् ?
घर भाडा घट्दैन व्यापार दिन प्रतिदिन घटिरहेको छ । त्यसैले, घरधनीले समेत वैज्ञानिक घरभाडा लागू गर्ने नीति बनाउन आवश्यक देखिन्छ । अर्काे अहिले प्यानबाट ५० लाख भन्दा धेरै कारोवार गर्न नपाउँदा सटरमा व्यवसाय गर्नेहरू समेत समस्यामा छन् । प्यानको कारोबारलाई बढाउने हो भने करको दायरा समेत बढछ । अहिले व्यवसाय गर्नेहरू पलायन हुने अवस्थालाई रोक्नको लागि व्यवसायीलाई विषेश प्याकेजसहित लगानीको वातावरण बनाउन आवश्यक छ ।
अहिले व्यवसाय गर्नु भनेको नाफा भन्दा पनि घाटाको व्यापार गर्नु हो । लगानी गरेपछि नाफा नदेखेपछि कुनैपनि व्यवसायीले आफ्नो व्यापार विस्तार गर्ने चाहिरहेका छैनन् । उद्योगको लागि अहिले दक्ष, अदक्ष दुवै कामदार पाइँदैन । नेपालमा काम गर्ने भन्दा राजनीति गर्ने र काम भन्दा गफ गर्ने मात्र धेरै हुँदा उद्यमको विकास भएको छैन । साना तथा घरेलु व्यवसायीहरु व्यवसाय बिस्तार गर्नु भन्दा यो पेशाबाट पलायनकै सोचमा देखिन्छन्
अहिले बैंकको ब्याज सस्तो हुँदा समेत व्यवसायीले कर्जा किन लिन चाहिरहेका किन छैनन् ?
सामान्य व्यवसायीले सटरमा बसेर काम गर्छ भने उसलाई विभिन्न निकायबाट सताउने काम सुरु हुन्छ । व्यवसाय सुरु गरेपछि विभिन्न निकायमा दर्ता प्रक्रियामै धेरै डुल्नुपर्ने हुन्छ । नेपालका कानून समेत लगानीमैत्री नहुँदा कर्जा लिएर व्यवसाय गर्न धेरै नै डर छ । बैंकमा पैसा छ तर, लगानी भएको छैन । त्यसको मुख्य कारण भनेको पछिल्लो अवस्थामा व्यवसायीको मनोविज्ञान नै कमजोर बनेको छ ।
निजी क्षेत्रको नाममा ठूला घरनाका व्यवसायीलाई मात्र सरकारले हेर्ने गरेको छ । साना, घरेलु तथा मझौला व्यवसायीका समस्या धेरै छन् । साना, घरेलु तथा मझौला व्यवसायीलाई हेर्ने राम्रो दृष्ट्रिकोण नै छैन । सरकारमा बस्नेहरू समेत आफूलाई फाइदा हुने विषयमा मात्रै त्यसलाई धेरै महत्व दिन गरेका छन् । बैंकले सस्तोमा ब्याज दिँदा समेत व्यवसायीले ऋण लिन चाहिरहेका छैनन् । यसको मुख्य कारण नै लगानीबाट प्रतिफल नदेखेरै नै हो ।
साना, घरेलु तथा मझौला व्यवसायीलाई चलायमान बनाउन अब के गर्नुपर्छ ?
पछिल्लो समय व्यवसायीमा समेत नेपालबाट कसरी बाहिरिने भन्ने छ । व्यवसायी गर्नेहरू हतोत्साहित अवस्थामा छन् । सरकारले तल्लो तहमै काम गर्ने कृषक, साना तथा घरेलु व्यवसायीलाई नै माथि उठाउने नीति बनाउनुपर्छ । सरकारमा पहँुच ठूला व्यवसायीको भन्दा साना साना व्यवसायीको हुनुपर्छ । बजेट बनाउँदा देखि नै साना व्यवसायीलाई प्राथमिकता राख्नुपर्छ । राज्यले देशमा उत्पादन भएको कच्चा पदार्थलाई प्रयोग गर्ने उद्यमलाई प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रम अगाडि सार्नुपर्छ । जसले गर्दा देशैभरी उत्पादन, उद्योग र बजारको वातावरण बनाउन सकियोस् ।