२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

होटल उद्घाटनमा अल्झिएका प्रधानमन्त्री, कतिपय होटल मापदण्डविपरीत

hardik ivf
निमिष झा
२०८१ फागुन २५ गते ०६:४५
होटल उद्घाटनमा अल्झिएका प्रधानमन्त्री, कतिपय होटल मापदण्डविपरीत

काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूलाई सिंहदरबारको कार्यकक्षमा भेट्न जति गाह्रो छ, उनीहरूलाई भेट्न त्यति नै सजिलो सभा, गोष्ठी, आमसभा जस्ता कार्यक्रममा छ किनभने कार्यकारी प्रमुखदेखि उनलाई सहयोग गर्ने मन्त्रीहरू दैनन्दिन कुनै न कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् ।

आजकल प्रधानमन्त्री र मन्त्रीहरू सजिलै सिंहदरबारमा भेटिँदैनन् । कार्यकक्षको ढोकामा रहेको नेमप्लेटमा प्रायः देखिन्छ– बाहिर ।

गत असारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीमा पनि कार्यक्रममा सहभागी हुने, उद्घाटन गर्ने मोह अत्यन्तै जागृत भएको देखिएको छ । यस अवधिमा उनी सामान्य खालका कार्यक्रममा पनि पुग्ने गरेका छन् । तर, पछिल्लो समय ओलीमा होटल उद्घाटन गर्ने मोह जबर्जस्त रूपमा जागेको छ । यस अवधिमा प्रधानमन्त्री ओलीले अन्य कार्यक्रमहरूको उद्घाटनका साथै निजी स्तरमा खुलेका होटलहरूको उद्घाटनमा आफूलाई व्यस्त राखेका छन् ।

कुनकुन होटल उद्घाटन गरे ? 

गत २९ भदौमा प्रधानमन्त्री ओलीले काठमाडौंको बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमन ट्री प्रिमियरको उद्घाटन गरे ।

यस्तै, पर्यटन व्यवसायी देशबन्धु बस्नेतले खोलेको पाँचतारे होटल ‘मेक्योर काठमाडौं’को उद्घाटन प्रधानमन्त्री ओलीले २ माघमा गरे ।

१ वर्षअघि नै संचालनमा आइसकेको कोमल वलीले खोलेको कोमल होटल एन्ड रिसोर्टको ५ फागुनमा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् ।

त्यसअघि २३ असोजमा काठमाडौंको बूढानीलकण्ठमै खुलेको होलिडे इन रिसोर्टको उद्घाटन गरे ।

उद्घाटनमोहबाट प्रेरित प्रधानमन्त्रीले होटलबाहेक हरेक हप्ता कुनै नै कुनै कार्यक्रमको उद्घाटन गर्र्दै आइरहेका छन् ।

प्रधानमन्त्री ओलीले निकै तामझाका साथ उद्घाटन गरेको दमक नगरपालिका– ३ दापगाछीमा निर्माण गरेको १८ तले बिजनेस कम्प्लेक्स भवन अहिले पनि अलपत्र छ ।

९९ प्रतिशत होटल अनुमतिबाहिर

एक तथ्यांकअनुसार काठमाडौं उपत्यकाका ९९ प्रतिशतभन्दा बढी तारे होटलहरूले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नलिएका पाइएको छ । प्राधिकरणका अनुसार योजना अनुमति नलिनेमा एकतारेदेखि चारचारे होटलसम्म छन् । उपत्यकाका ३ जिल्लामा संचालित ४३१ तारे होटलमध्ये ९९ प्रतिशतभन्दा बढीले प्रधिकरणसँग अनुमति नै नलिएका हुन् ।

यतिसम्म कि प्रधानमन्त्री ओलीले निकै तामझामसहित उद्घाटन गरेको पाँचतारे होटल मक्र्योरले समेत अनुमति नलिएको पाइएको छ ।

विवादित उद्घाटन

प्रधानमन्त्री ओलीले कोरोना महामारीको समयमा ‘थर्मल गन’ काण्डमा मुछिएका व्यवसायी साहिल अग्रवालको होटल हिल्टन उद्घाटन गरेका छन् । साहिलका बुबा शंकर अग्रवालको मुख्य लगानी रहेको नक्साल भगवती मन्दिरसँगैको होटल हिल्टन ओलीले उद्घाटन गरेका हुन् ।

शंकर अग्रवाल धनी रहेको शंकर ग्रुप नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन महसुल भुक्तानी विवादमा पर्दा पछाडिको खेलाडीको रूपमा परिचित छ । 

एउटा कर छलीवाला विवादास्पद होटलको उद्घाटनमा देशको कार्यकारी प्रमुख र विभागीय मन्त्रीहरू पुगेपछि त्यहाँ शक्तिको चलखेल भएको टिप्पणी भएको छ ।

प्रधानमन्त्री ओलीले निश्चित व्यापारिक घरानाका काममा संलग्नता देखाउँदा त्यसबाट कतै न कतै लाभ लिएका हुन सक्छन् भनेर सार्वजनिक रूपमा प्रश्न उठ्नु स्वाभाविक भएको विश्लेषकरूको भनाइ छ । उद्घाटन र शिलान्यासको मोह छाड्न नसक्नेहरूले गर्ने यस्ता कार्यले सरकारको जिम्मेवारी र दायित्व एकातिर तथा सरकार प्रमुखले गर्ने काम अर्कातिर भएको उनीहरूको धारणा छ । 

‘त्यसले सरकार र प्रधानमन्त्रीको अनुत्तरदायी र गैरजिम्मेवार छवि निर्माण गर्छ । नभएका काम गरेको भन्ने, नभएका उपलब्धि हासिल गरेको दाबी गर्ने र जनतालाई भ्रम छर्ने काम मात्र भएको छ’, राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहालले भने ।

बुझ्दै नबुझी जाँदाको परिणाम

उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रममा देखियो । 

१९ जेठ २०७६ मा पोखराको लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्न पोखरा पुगेका ओली नराम्रोसँग चुके । त्यतिबेला पनि उनी प्रधानमन्त्री थिए ।

१० तलाको यो होटल भवन मापदण्डविपरीत बनेको छ । होटल संचालक भरतराज पहारी पोखरा महानगरपालिकाको मापदण्ड निर्धारण समितिका संयोजक पनि थिए । पहारी विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका व्यक्ति पनि हुन् । 

तर, मापदण्डविपरीत होटल निर्माण भएको आलोचना हुँदाहुँदै पनि प्रधानमन्त्री ओली होटल उद्घाटन गर्न पुगेका थिए ।

संचालक पहारीले प्रधानमन्त्री ओलीलाई थाहै नदिई राजनीतिक प्रभावमा पारेर होटल उद्घाटन गर्न बोलाएका थिए । तर, पछि जब प्रधानमन्त्रीले यो विषय थाहा पाए, उनले होटल उद्घाटन नै नगरी फर्केका थिए ।

प्राध्यापक दाहाल उच्च पदस्थ पदाधिकारीमा कस्तो कार्यक्रममा जाने भन्ने नीति नै नभएको बताउँछन् । राजनीतिक प्रभाव बढेकाले पनि प्रधामन्त्री र मन्त्रीहरूमा उद्घाटन गर्ने मोह बढेको उनको टिप्पणी छ ।

यसअघि तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन पोखराको बुद्धचोकमा मापदण्डविपरीत निर्माण भएको १० तले होटल टास्क इन्टरनेसनलको उद्घाटन गरेर आलोचित भएका थिए ।

आमसभामा भीड देखाउने, उद्घाटन र शिलान्यासमोह, ‘समृद्ध नेपाल : सुखी नेपाली’ जस्ता नारा ओलीले बोकेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise