२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

यूएईमा मादक पदार्थ खाएर झगडा गर्ने नेपाली बढे, दूतावासले गरायो सचेत

shivam cement
मध्यान्ह
२०८१ फागुन २५ गते १३:३४
यूएईमा मादक पदार्थ खाएर झगडा गर्ने नेपाली बढे, दूतावासले गरायो सचेत

काठमाडौं : यूएईको अबुधावीस्थित नेपाली दूतावासले यूएईमा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपालीहरूलाई यूएईको कानुन, नियम पालन गर्न सचेत गराएको छ । आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावासले ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोही अनुरुप आचरण र व्यवहार गर्न तथा कानुनीरूपमा निषेध गरिएका क्रियाकलापहरूमा संलग्न नहुन नेपालीहरूलाई सचेत गराएको हो ।

विगत केही समयदेखि नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको जानकारी गराउँदै नेपाली दूतावासले यसतर्फ समयमै सचेत रहन आग्रह गरेको छ ।

दूतावासले सूचनामा भनेको छ, 'संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं सभ्य र शिष्ट व्यवहार प्रदर्शन गर्न, आफ्नो पेशा र व्यवसायप्रति सधै इमान्दार, कर्तव्यनिष्ट र अनुशासित भई कार्य गर्न नेपाली राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ । विगत केही समयदेखि नेपालीहरुले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र यसरी मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको हुँदा यसतर्फ समयमै सचेत रहन दूतावास सबैमा अनुरोध गर्दछ ।'

दूतावासले जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र रेसिडेन्सियल नियम पालना नगरेकै कारण हालका दिनहरूमा डिपोर्ट हुने नेपालीहरुको संख्यामा वृद्धि भएको जनाएको छ । दूतावासले ट्राफिक नियमको पालना गर्न तथा आफ्नो इमिरेट्स परिचय पत्र सधैं साथमा लिएर हिँड्न समेत दूतावासले आग्रह गरेको छ ।

दूतावासले कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्या निवेदन गर्नु पनि आग्रह गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise