२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

१७ वर्षीया बालिकामाथि करणी प्रयास, पाँच हजार रुपैयाँमा मिलापत्र !

draupadi film
दिलमाया शाही
२०८१ असार १७ गते १३:५०
१७ वर्षीया बालिकामाथि करणी प्रयास, पाँच हजार रुपैयाँमा मिलापत्र !

जुम्ला : जुम्लाको तिला गाउँपालिकामा गत जेठ २० गते १७ वर्षीया बालिकामाथि करणीको प्रयास भएको पाइएको छ । तिला गाउँपालिका–४ का अन्दाजी ३४ वर्षीय शंकर उपाध्यायले आफूमाथि करणी प्रयास गरेको पीडित बालिकाले बताएकी छन् ।

तर गाउँकै अगुवाहरुको उपस्थितिमा मिलापत्र गराइएपछि उक्त घटना गाउँमै सामसुम पारियो भने कानूनीरुपमा पनि कतै उजुर बाजुर परेन । करणी प्रयासको आरोप लागेका उपाध्याय विवाहित पुरुष हुन् भने उनका छोरा छोरी पनि रहेको स्थानीयहरु बताउँछन् ।

भान्जी नाता पर्ने बालिकालाई गाई चराउन गएको मौका छोपी थामा खोला भन्ने स्थानमा उपाध्यायले करणीको प्रयास गरेको बुझिएको छ । तर उपाध्यायका दिदी, भिनाजु, नुवाकोट, रावत वाड, र साँपुल्ली गाउँका केही अगुवा मानिसहरु बसेर एक जोडी कुर्ता सुरुवाल र ५ हजार रुपैयाँ टिकाको थालीमा रोखेर माफी मागेर मिलापत्र गरेको पीडित बालिकाले मध्यान्हलाई बताइन् ।

पीडित बालिका भन्छिन्, ‘म रोइकराइ गरेर गाउँका मान्छे कुलाको काम गर्दै थिए त्यहीँ गए । त्यसपछि सबै कुरा गाउँलेलाई बताउँदा करणी भएको छैन, प्रयास गरेको कुरामा मुद्दा लाग्दैन भनेर भनेपछि म चुप लागेको हुँ ।’

पीडित बालिकाकी आमा पनि उपाध्यायकी श्रीमती, दिदी, भिनाजु घरमै आएर माफी मागेपछि र एक जोडी कपडा र ५ हजार रुपैयाँमा मिलापत्र भएको बताउँछिन् । बालिकाकी आमाका अनुसार शंकरका भिनाजु उनको भाउजुका भाइ भएकाले भिनाजु नता पर्छन् । आफ्ना मान्छे भएर पनि कानूनीरुपमा जान नसकेको बालिकाकी आमाले बताइन् ।

सोही गाउँका शिक्षक हरिचन्द्र शाहीले आफूले नदेखे पनि सो घटनाबारे सुनेको र बालिका रुँदै आएको देखेको बताए । सोही दिनदेखि शंकर पनि फरार रहेकाले घटना भएको हो भन्ने कुरामा बल पुगेको उनको भनाइ छ ।

घटनाको मिलापत्रमा बसेका नेपाली कांग्रेसका कार्यकता लोकेश शाहीले आफूहरुले बालिकालाई घटनाबारे सोधेको र करणी भएको होइन भनेपछि व्यक्तिगत झगडामा मिलापत्र गराइएको बताए । पैसा लिएर मिलापत्र गराएको भन्ने आरोपबारे आक्रोशित हुँदै उनले भने, ‘मैले २० लाख खाएर मिलापत्र गरेको भए पनि गरें, यो गाउँको कुरा हो ।’

पछिल्लो समय बालिकामाथि बलात्कारका घटनाहरु अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेको पाइन्छ । मुलुकी संहिताले बालयौन दुव्र्यवहारको विषयलाई छुट्टै अपराधको रुपमा राखेको छ । तर जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी प्रशासन तथा गाउँका अगुवाहरु नै यस्तो घटनामा मिलापत्र गराउन अग्रसर भएर आपराधिक क्रियाकलपलाई बढवा दिइरहेको पाइन्छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise