काठमाडौं : चालु आर्थिक वर्षको पुस महिनाको तुलनामा माघ महिनामा बैंकिङ क्षेत्रको नाफामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार सो अवधिमा बैंकिङ क्षेत्रका क, ख र ग वर्गका बैँकहरूको खुद नाफामा ३१.१२ प्रतिशतले वृद्धि भएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा ६.७९ प्रतिशतले घट्न पुगेको नेपालको बैंकिङ क्षेत्रको खुद नाफा आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष ०८०/८१ पनि ८.८१ प्रतिशतले घट्न पुगेको थियो । तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस महिनाको तुलनामा माघ महिनामा सबै बैंकिङ समूहको खुद नाफामा वृद्धि भएको छ ।
जसमा अन्य समूहको तुलनामा वाणिज्य बैंक समुहको नाफाको वृद्धिदर अगाडि छ । पुस महिनाको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरूको नाफामा ३१.४६ प्रतिशतले वृद्धि भएको छ । पुस महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले २७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । माघ महिनामा ती बैंकहरूको यस्तो नाफामा वृद्धि भएर ३६ अर्ब ६ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, पुस महिनाको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीको खुद नाफामा पनि सुधार भएको छ । यद्यपि ती बैंकिङ समूहको खुद नाफा वृद्धिदर भने वाणिज्य बैंक समूहको तुलनामा केही न्यून रहेको छ । सो अवधिमा विकास बैंक र फाइनान्स कम्पनी समूहको खुद नाफामा क्रमशः २८.३७ र २३.११ प्रतिशतले वृद्धि भएको छ । पुस महिनामा विकास बैंकहरूले २ अर्ब ६८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए भने माघ महिनामा उनीहरूको खुद नाफा ३ अर्ब ४४ करोड २ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, फाइनान्स कम्पनीहरूले पुस महिनामा २३ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा माघ महिनामा सो समूहको खुद नाफा २८ करोड ४ लाख रुपैयाँ पुगेको छ ।