काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अटोमोबाइल क्षेत्रमा रोजगारी सृजना गर्न तालिम प्रशिक्षणलगायत कार्यक्रम गर्नेगरी मन्त्रालय र नाडाबीच समझदारीमा हस्ताक्षर भएको हो ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा उक्त समझदारी भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन सोमबारदेखि प्रारम्भ भएको हो ।
श्रम मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालबीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षरसमेत सम्पन्न भएको छ ।
समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका थिए । यसले रोजगारी र श्रमिकहरूको अभिवृद्धिका लागि सरकार र नेपालको निजीक्षेत्र समन्वयात्मक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।