रौतहट : रौतहटको ईशनाथ नगरपालिका ५ जयनगर सीमानाकाबाट लाखौंको रक्सीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय राजपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कुमार कुर्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ठूलो मात्रामा रक्सीसहित दुईवटा मोटरसाइकल र एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण भसेडवा वडा नं १९ का २० वर्षीय सन्तोष यादव रहेका छन् । उनको साथबाट अन्दाजी २ लाख रुपैयाँ बराबरको रक्सी समेत बरामद गरिएको छ ।
यस्तै भारतीय नम्बर प्लेट भएका दुईवटा मोटरसाइकल बि आर ०५ डी ४३३१ तथा बि आर ०५ एसी ३३११ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादव, मोटरसाइकल र रक्सीलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न गौर भन्सार कार्यालयमा बुझाइएको छ ।