काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ । "इम्पावरिङ द युथ, सेपिङ द पियानोज् फ्युचर" भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ ।
युवाहरूको विदेश पलायन र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा नेपाली प्रवासी युवाहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्यका साथ् सम्मलेन सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गरेका छन् । सो अवसरमा सम्बोधन गर्दै मन्त्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालीले नेपालकोl वास्तविक राजदूतको भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, “ म जहिले पनि बीपी कोइरालाज्यूको विचारलाई साभार गर्छु, उहाँ भन्नुहुन्थ्यो विदेशमा रहेका हरेक नेपाली अनौपचारिक राजदूत हुन्, वास्तवमै हो महामहिम ज्यूहरू त औपचारिक मात्रै हुनुहुन्छ जुन क्षणिक हो । तर तपाई एनआरएनहरू वास्तविक र स्थायी राजदूत भएर काम गरिरहनुभएको छ ।ʼ
नेपालले एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उनको भनाइ थियो । उनले भने, “लोकतन्त्रलाई अगाडि बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न । यही भावना तपाई एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुट्कारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ ।”
एनआरएनले नेपालको सन्देशवाहक भएर नेपाललाई विश्वभरि चिनाउनतर्फ ध्यान दिनुपर्ने, संस्कृतिको आदानप्रदानलाई अघि बढाउन पुलको काम गरिरहेको र त्यसले निरन्तरता पाउनुपर्नेमा उनले जोड दिए । थाइल्याण्डलाई नेपालको संस्कृतिसँग नेपालको बुद्धत्वसँग धार्मिक पर्यटनसँग जोड्न सक्नुपर्ने मन्त्री पाण्डेको जोड थियो । पीएनओज्का विषयमा सरकारले काम थालिसकेको र उनीहरू नेपाली संस्कृति र इतिहासका अमूल्य निधि भएको उनको भनाई थियो ।
सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नुहुन्न : राजदूत धनबहादुर ओली
थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले एनआरएनए अभियानले विश्वभरका नेपालीलाई एकबद्ध गरेकोले सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नु नहुने बताएका छन् । शनिबार ९१५ मार्च २०२५० थाइल्याण्डको राजधानी बैंककमा जारी दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले भने, 'को बेठीक को ठीक भन्दा मैले जहिलेपनि भन्छु नेपालमै केही नगरी बस्ने नेपाली भन्दा विश्वका जुन कुनामा बसेपनि कहाँनेर नेपाललाई जोड्न सक्छु भनेर सोचेमात्रै पनि नेपाल समृद्ध हुन्छ । हरेक सन्तती जसले नाता जोड्यो, भाषा जोड्यो त्यसप्रति यो मुलुकले गर्व गर्छ । जहिलेपनि नकारात्मक कुरा मात्रै गर्ने हो भने बाहिर रहेका दोस्रो पुस्तालाई नेपाल विर्सन अति सजिलो हुन्छ ।'
नेपाल अब मेची र कालीबीचको भौगोलिकताबीच मात्रै सिमित नभएको उनको भनाई थियो । उनले भने, “जहाँ-जहाँ नेपाली छ त्यहाँ नेपाल छ अब हामीसँग एउटा मात्रै सगरमाथा छ भनेर नसोचौँ, संसारभरि नाम उँचो पार्ने सबै नेपाली सगरमाथा जस्तै बनेका छन्, हामी जहाँ भएपनि नेपालीको मन सबै उस्तै हुन्छ त्यसैले एनआरएनएलाई एउटा पूल बनाऔँ र सकारात्मकतातिर बढी ध्यान दिऊँ । पछिका पुस्तालाई कसरी जोड्ने, बौद्धिक सम्पत्तिलाई कसरी जोड्ने भन्ने नै मुल विषय हो ।” उहाँले थप्नुभयो, “अब च्यारिटी मात्रै होइन हरेकले नेपाललाई व्यवसायिकतासँग जोड्ने प्रयास गरौँ । विज्ञ प्राज्ञलाई जोड्न बल मिलोस् । रेमिट्यान्समा मात्रै होइन निर्यातमा रमाउन सक्ने बनाऔँ । सानातिर विवाद सुल्झाउने शक्ति मिलोस् ।”
एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन अध्यक्ष डा बद्री केसीको आग्रह
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन् । थाइल्याण्डको बैंककमा सुरु दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ एउटा संस्था मात्रै नभई विदेशमा रहेका ८० लाख नेपालीको साझा चौतारी एवं विश्वभरका नेपालीलाई एकबद्ध गर्ने पवित्र अभियान भएको भन्दै अध्यक्ष डा केसीले यस संघलाई राजनीतिकरण नगरिदिन आग्रह गरेका हुन् । उनले भने, “नेपालमा जुनसुकै राजनीतिक पार्टी सरकारमा भएपनि हामीलाई कुनै फरक पर्दैन, किनकी सन् २००१ मा जब एनआरएनएको परिकल्पना भएको थियो, त्यो समय विदेशमा रहेका कयौँ हामीहरू राजसंस्थाको विरोधमा थियौँ तर हामीले नेपालको प्रमुख ओहोदामा भएको राजालाई हाम्रो प्रमुख अतिथि बनाएर कार्यक्रम सञ्चालन गरेका थियौँ, भन्नुको अर्थ हामीलाई सरकारमा को छ, कुन पार्टी छ भन्ने कुराले प्रभाव पार्दैन किनकी यो राजनीतिक संस्था होइन विशुद्ध सामाजिक संस्था हो र विदेशमा रहेका ८० लाख नेपालीको आस्थाको विश्वासको, इमानदारिताको संस्था हो ।”
उक्त अवसरमा सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि पूर्ण कार्यान्वयन नहुँदा नेपालमा लगानी लैजान आफूहरूलाई कठिन भइरहेको भन्दै अध्यक्ष डा केसीले सरकारको ध्यानाकर्षण गराए । विदेशमा रहेका नेपालीहरू विभिन्न क्षेत्रमा सफल भइरहँदा मुलुक पनि सफल भइरहेको उनको भनाई थियो ।
सामाजिक सञ्जालमा छरपष्ट भएजस्तो खराब अवस्था एनआरएनएमा छैन : डा हेमराज शर्मा, उपाध्यक्ष
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले सामाजिक सञ्जालमा छरपष्ट रुपमा फैलाइएको नकारात्मकता जस्तो अवस्था एनआरएनएभित्र नरहेको स्पष्ट पारेका छन् । बैंककमा सुरु दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्दै डा शर्माले सामाजिक सञ्जाल हरेर एनआरएनएप्रति धारणा नबनाउन आग्रह गरे ।
“सामाजिक सञ्जालको नकारात्मक प्रभावका कारण एनआरएनए र यसका क्रियाकलापमाथि गलत धारणा बनाउने काम भइरहेको छ, उनले भने, “सामाजिक सञ्जाल हेरेर एनआरएनएप्रति निर्णय नगरौं, हाम्रो संगठन सशक्त र सकारात्मक दिशामा अघि बढिरहेको छ, मात्रै केही सानातिना समस्या छन् जसलाई समाधान गर्ने प्रयासमा हामी छौँ, एनआरएनए सिधिहाल्यो, खराब भयो भन्ने अवस्था छैन ।”
किस्तावन्दीमा नागरिकता कहिलेसम्म ? : उपाध्यक्ष रामशरण सिम्खडा
गैरआवासीय नेपली संघका उपाध्यक्ष एवं नागरिकता तथा पीएनओज् विभागका इन्चार्ज रामशरण सिम्खडाले सरकारले संविधानमै भएको प्रावधानलाई पनि किस्ताबन्दीमा दिइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । पछिल्लो समय दोस्रो विश्वयुद्धपछि थाइल्याण्ड, म्यानमार, फिजी लगायत देशमा पुगेका नेपालीहरूका सन्ततीलाई आफूहरूलाई नेपाली भनि परिचय दिइओस् भन्दै पहिचानको लागि संघर्ष गर्नुपरेको उनको भनाई थियो । उनले भने, “२००३ देखि नागरिकताको मुद्दा पैरवी गर्दै आएका हामी एनआरएनले किस्ताबन्दीमा अधिकार पाइरहँदा पीएनओका मुद्दामा अझ कति समय लाग्छ भनेर सोध्दा के जवाफ दिन सकौँला ?” सरकारले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र पीएनओजको मुद्दालाई सकेसम्म चाँडो
टुँग्याउनुपर्नेमा उनले जोड दिए ।
पीएनओज्को मुद्दामा सरकारसँग हामी निरन्तर संवादमा छौँ : महिला उपाध्यक्ष रोजिना प्रधान राई
सन् २००३ मा स्थापना भएदेखि नै गैरआवासीय नेपाली संघले परिवर्तनशील समय र सन्दर्भमा आफुलाई अद्यावधिक गर्दै आएको उपाध्यक्ष रोजिना प्रधान राईले बताएकी छन् । हालसम्म ९० देशमा औपचारिक सञ्जाल स्थापना गर्दै एनआरएनएले विभिन्न देशमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको र नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रले हामीलाई सधैं प्रेरित गरेको उनको भनाई थियो । विश्वभर रहेका नेपालीलाई एकताबद्ध गर्दै, उनीहरूको ज्ञान, सीप, र पुँजीलाई प्रयोग गरी मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने र सम्मेलनमार्फत पनि विदेशमा रहेका युवालाई नेपालसँग जोड्ने प्रयास निरन्तर रहिरहने उनले उल्लेख गरिन् ।
पाल्पाकी ओजस्वी आचार्यलाई एनआरएनए ब्राण्ड एम्बास्टर घोषणा
ओजस्वी आचार्यलाई एनआरएनए ब्राण्ड एम्बास्टर घोषणा गरिएको छ । पाल्पास्थित दमकडा नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आचार्य एनआरएनएद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताकी अतिथी वक्तासमेत हुन् । सानै उमेरमा विदेशमा बस्ने नेपालीहरूलाई नेपालसँग जोड्न योगदान गरेको भन्दै संघको तर्फबाट अध्यक्ष डा केसीले आचार्यलाई एनआरएनए ब्राण्ड एम्बास्टर घोषणा गरेका हुन् ।
एनआरएनएको प्रस्तावमा दुई जना नेपालीलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीलाई निशुल्क एमबीबीएस अध्ययनको अवसर प्रदान गरिने भएको छ । थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका अवसरमा एसियन इन्टरनेशनल युर्निभर्सिटीमा एमबीबीएस अध्ययनको लागि दुई जना नेपालीलाई अवसर प्रदान गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । संघका तर्फबाट अध्यक्ष डा बद्री केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर एस एस देखकानोय (S S डेख्कनोय) ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यससमबन्धी सम्पूर्ण प्रक्रियामा एनसीसी किर्गिस्तानका अध्यक्ष किसान भण्डारीले विशेष भूमिका निर्वाह गरेका थिए । उनकै पहलमा एनआरएनए र युर्निभसिटीबीच यस महत्वपूर्ण विषयमा एमओयू भएको हो ।
सम्मेलनमा भाग लिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसी, उपाध्यक्षहरू डा। हेम राज शर्मा, रामशरण सिमखडा लगायत संघको पदाधिकारी टोली बैंकक पुगेका थिए । आइतबार बैकक घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने तयारी छ ।