काठमाडौं : सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
मंगलबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतले बिदाइ गरेका हुन् ।
सोही क्रममा टोलीका कप्तान किरण चेम्जोङले नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिएका छन् त्यो टोलीका सबै खेलाडीहरुले सकरात्मक लिएकाले आउने खेलमा पक्कै पनि केही परिवर्तन हुने बताए । उनले भने, ‘हामी एकदमै उत्साहित छौं । यसपालि हाम्रो कोच पनि नयाँ हुनुहुन्छ र उहाँ पनि हामीसँग काम गर्न पाउँदा उत्साहित हुनुहुन्छ । नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ । टोलीका सबै खेलाडीहरुले राम्रो तरिकाले लिएका छन् । केही नयाँ कुराहरु सिक्न पाएका छौं । पक्कैपनि केही परिवर्तन देख्न पाउनु हुनेछ ।’
साफको तयारी भइरहेका बेला साफभन्दा दुई हप्ता अगाडि एउटा सिरिज नेपालमा नै खेल्न पाए एकदमै राम्रो हुने पनि उनको भनाइ छ ।
यस्तै प्रशिक्षक म्याट रसले नेपालमा धेरै राम्रा खेलाडीहरु भएका कारण छनोटको क्रममा समस्या भएपनि सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको बताए ।
खेलाडीहरुले कस्तो खेल्छन् भनेर हेर्न उत्साहित रहेको भन्दै उनले टोलीलाई नेतृत्व गर्ने सपना पूरा भएको बताए ।
उनले भने, ‘खेलाडीहरुको प्रस्तुति, प्रतिबद्धता एकदमै राम्रो छ । तालिम दिने बेला कुनै पनि खालको समस्या भएन । नेपालमा धेरै राम्रा खेलाडीहरु छन्, त्यही कारण छनोटको क्रममा भने समस्या भएको थियो । अहिले सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको छु । हाललाई धेरै प्रेसर महसुस गरेको छैन । म उत्साहित छु ।’
उनले परिणामको बारेमा अहिले भन्न सकिने अवस्था नभएपनि बलियो र सकारात्मक प्रस्तुतिको आशा गरेको भन्दै प्रतिस्पर्धा गर्ने टोली पछाडि नहट्ने सोचमा रहेको बताए ।
नेपालले यही मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ ।
अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो ।
रसले सिंगापुर र मलेसियाका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । यस पटक गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी तीन नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।