-अच्युतप्रसाद पौडेल ‘चिन्तन’
दशैं आयो, सबैको अनुहार मलीन छ, बैंकमा तरलता बढेर व्याज घटेको छ । आर्थिक लगानी छैन । उत्पादन र सेवा व्यापार निष्कृय छ । कोरोनाको त्रासले सबैलाई डल्लो पारेको छ । मनमा आनन्द नभई सुख, समृद्धि र शान्तिको अनुभूति हुन्न । विश्वका धनाड्येहरु पनि रोएको बेला देश रोएको छ, हामी रोएका छौं । देशबासीमा कुनै उत्साह छैन । ऊर्जा र उत्साह नहुँदा दशैं होस् या अन्य चाडबाड, कहाँ रमाइलो हुन्छ र ! बजारमा खासै चहलपहल छैन, न यात्रामा भीडभाड, जताततै सन्नाटा छाएको अनुभूति हुँदैछ । रमाइलो मनले नै जौका जमराले आशीर्वाद दिने हो र त सरकारले भन्यो यसपालिको आशीर्वाद पोको पारेर अर्को साललाई राख्नू, ठूला बा साना प्रत्यक्षः भेटघाट नगर्नू, सायद हाम्रो पुस्तामा पहिलोपल्ट परेको चोट होला यो ! कति हृदय विदारक कथा र व्यथा होला यो !
कोरोनाको सन्त्रासपछि विश्व रोएको बेला अबकोे समाज कस्तो होला सोच्नु पर्ने भएको छ । प्रथमतः आाजको समाजमा हिजो अरु थिए, आज हामी छौँ, भोलि अरु होलान् । यस धर्तीमा यसरी नै समाज चलिरहने हो । विश्व स्वास्थ संगठनको परिभाषा अनुसार हाम्रो शरीरको ३ पक्ष छ । शारीरिक, मानसिक र सामाजिक ३ पक्षले हामीलाई डोर्याइरहेको हुन्छ । समाजमा मानिस सधैँ नैतिक र चारित्रिक हुनु जरुरी छ । स्वस्थ समाजका लागि मानिसको जीवनशैली सदैव सन्तुलित र सकारात्मक हुनु पर्छ । समाजमा एकले अर्कोप्रति दयाको भावमा हुनुपर्छ । कोरोनाले देखायो शरीरमा मुख छ, नाक छ तर देखाउन पाइएन । पैसा छ प्रयोग हुन सकेन, पुत्र पुत्री परिवार छन् सँगै बस् उठ् हुन पाएन । पद छ उपयोग भएन, प्रतिष्ठा छ त्यो पनि प्रयोगमा आएन, विद्यालय छ विद्या आर्जन भएन, अस्पताल छन् उपचार हुन सकेन । समाज छ, टोल, छर छिमेकी छन्, इष्ट मित्र छन्, सबै व्यर्थ भए । खेत बारी छन्, काम भएन, सडक छ, हिँड्न पाइएन । मानौ उहीले विद्यालयमा पढ्दा गोेल्डेन टच्को कथा पढिएको थियो अहिले हालत त्यही भयो ।
देख्दा एउटै देखिए पनि लाखौँ कोशिकाहरुबाट हाम्रो शरीर बनेको हुन्छ । स्वतः यसले काम गरिरहेको हुन्छ हामीलाई पत्तै हुन्न । प्रकृतिका पाँच तत्वले बनेको शरीर माटो, पानी, वायु, शब्द भनौं आकाश, तेज तत्वबाट यो बनेको हुन्छ र प्रकृति असन्तुलित हँुदा वातावरण बिग्रिएभैmँ हाम्रो खान पान, भनौँ आहार, विहार असन्तुलित हुँदा रोग लाग्छ । देख्दा एउटै देखिए पनि हाम्रो ३ रुपको शरीर छ । बाहिरी देखिने शरीर स्थुल हो, यो रोग र व्याधीको घर हो, यसले सँधै सुख मात्र खोज्छ । यसभित्र रहेको अर्को शरीर सुक्ष्म शरीर हो यो देखिँदैन अनुभुति मात्र हुन्छ यसलाई मन भनिन्छ यसले जहिले पनि शान्ति मात्र चाहन्छ । त्यस भित्र पनि अर्को अति सुक्ष्म शरीर छ त्यो आत्मा हो यसलाई कारण शरीर भनिन्छ, यसलाई आनन्द मात्र चाहिन्छ बाँकी केही विषय वासनामा यसको उपस्थिति रहन्न । यी ३ कै गति सन्तुलनले विचार प्रवाह गर्छ । यस्तै यस्तै मानिसको भीडबाट समाज बन्छ । मन बुद्धि र चेतनाको समिश्रण भन्नु मान्छेको उन्नतिको मार्ग हो, त्यसैलाई अर्थविद्हरुले समृद्धि भन्ने गरेका छन् । स्वस्थ आहारबाट शरीर स्वस्थ हुन्छ । समाजले कष्ट र हैरानी धेरै सहिसकेकाले अबको समाजले ज्यादै पिरा, टर्रा, अमिला, सडे, गलेको ज्यादै पुरानो, धेरै तारेको, भुटेको, बजारमा सजाइएको, बट्टा बन्दी, फास्ट फुड, जन्क फुड, तयारी खाना, धुमपान, मदिरा, खैनी सुर्ति आदिको प्रयोग नगर्ला वा गरे पनि बहुतै कम गर्ला । शरीरमा अत्यावश्यक षड्रसमा ध्यान देला । कारण बजारका विषाक्त खानाले शरीरमा पोषण तत्वको कमी त हुन्छ नै जटिल रोगको पनि उदय हुन्छ र रोग प्रतिरोधात्मक शक्ति पनि क्षीण हुन्छ । रोग लागेर उपचार खोज्नु भन्दा सकेसम्म रोग नै लाग्न नदिइनु राम्रो हुन्छ ।
खानामा पोषण तत्वको कमीले अनेकौं व्यवधान, अनेकौं रेगको उदय हुन्छ, हामीलाई थाहै नभई शरीरले अनवश्यक वस्तुहरु बाहिर फालिरहेको हुन्छ । किटाणुहरुलाई पनि शरीरका विभिन्न निश्कासन प्रणालीबाट बाहिर फालिरहेको हुन्छ । स्वतः सन्चालन हुने यस्तो प्रणालीमा अवरोध आउना साथ मानिसलाई रोग लाग्छ, विरामी होइन्छ, शरीर जीर्ण हुन्छ, आपूm त समस्यामा हुन्छ नै, घर, परिवार, समाज, राष्ट्र र संसार नै भयभीत बन्छ । फोहोर पानी, दुषित वातावरण, अस्वस्थकर खाना, आहार, विहार र जीवनशैलीले रोगका कीटाणुले आक्रमण गर्छन्, शरीर संक्रमित हुन्छ । अन्ततः समाज संक्रमित हुँदै समग्र राज्य प्रणालीमा असर पार्छ । कहिलेकाहीँ सामान्य रुघा घोकी, ज्वरो, पातलो दिसा, वमनले शरीरमा जम्मा भएका विकार बाहिर पठाउने काम गरेको हुन्छ, आत्तिनु हुन्न तर लामो समय यस्तो भइरहे शीघ्र उपचार गर्नु पर्छ । सामन्यतया स्वस्थ शरीर यस युगका लागि सय वर्षको हो,जीवनशैलीको लापरबाहीले चाँडो रोग उदय हुन्छ र मानिसको पूर्ण आयु हुन पाउँदैन । क्रोध, आवेग, तनाव एक बाबुका ३ सन्तान जस्तै हुन् । एक पछि अर्कोले आप्mनो उपस्थिति देखाइहाल्छन् । यिनले शरीरमा सन्चित आधाभन्दा बढी शक्तिलाई क्षीण गराउँछन् । त्यसैले मानिसले हरपल आप्mनो दिनचर्यामा याद गरिरहनु पर्छ । मानिसमा ४ किसिमको पुरुषार्थको आशा हुन्छ । धर्म, अर्थ, काम र मोक्ष । अरुलाई बाधा नगरी आप्mनो स्व धर्ममा रहेर सात्विक धन आर्जन गर्ने, त्यसको सदुपयोग गर्ने, परोपकारी काममा प्रयोग गर्ने, पशुवत् व्यवहार नगर्ने, एक मानवले अरु मानवको र मानव हित हेतु रहेका समस्त जीवात्माको समेत माया, दया गर्ने,समग्र बसुधा भित्रकालाई कुटुम्ब सम्झने बसुधैव कुटुम्वकम्को सिद्धान्तले रहने मानिसको असल चरित्र हो । कलिमा पनि देवत्व पाउन पनि सकिन्छ जहाँ सत्य र सदाचार हुन्छ, मानवीय गुण हुन्छ त्यही स्वर्ग हो । कलिमा पनि स्वर्ग देख्न समाजको चित्र असल हुनु पर्छ । अरुको खोसेर खानेलाई दानव भनिन्छ । दानवको व्यवहारबाट माथि उठेर मानव हुन सक्नु उसको महानता हो । मानवले अरु प्रति सदैव विवेकपूर्ण व्यवहार गर्नु पर्छ । पशुभन्दा पृथक देखिने कारण नै उसको व्यवहार हो । आहार, विहार, व्यवहार र सदाचार मानिसका असल गहना हुन्, समृद्धिका सोपान हुन्, स्वरुप हुन् ।
पापको कारण तृष्णाको अन्त हुँदैन । जब जव पाप नष्ट हुन्छ तब तब तृष्णा समाप्ति हुन्छ । मनमा राग पनि । पाप कर्म क्षय भएपछि ज्ञानको ज्योति प्रकाशित हुन थाल्छ । विषय र इन्द्रिय चञ्चल हुन्जेल दुःख आफै वरिपरि घुमी रहन्छ । खोजेको वस्तु प्राप्ति नहुँदासम्म मन दुःखी भइरहन्छ । मन सुखी बनाउन विषयको चञ्चलतालाई हटाउनु पर्ने हुन्छ । आत्मबोधको लागि इन्द्रियरुपी चञ्चल पदार्थहरुलाई हटाउनु पर्ने हुन्छ । इन्द्रिय भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ छ, बुद्धि भन्दा ज्ञान श्रेष्ठ छ, ज्ञान भन्दा आत्मा श्रेष्ठ छ । दुःखको चिन्तन गर्नाले दुःख बढ्छ । सुखको चिन्तन गर्नाले सुख बढ्छ । मानसिक दुःखलाई विचारले र शारीरिक दुःखलाई व्याधि चिकित्साले घटाउन सकिन्छ । विज्ञानको सामथ्र्य भनेको यही हो । आधिको रोग अभावको रोग मानसिक रोग हो । यौवन, रुप, शरीर, धन, आरोग्य, प्रिय मित्रसँगको समागम यी सबै कुरा चिरस्थायी होइनन् । विचारशील व्यक्तिले यी साधनहरुलाई साध्यको रुपमा प्रयोग गर्छ । मनुष्य जीवनमा सुखको अपेक्षा दुःख बढी छ । सुख चाहिँ क्षणभरको रुप र क्षणिक हाँसो समान मात्र छ । मनको एकाग्रता नभएसम्म यो अवस्थामा पुग्न सकिन्न । पृथ्वीभन्दा ठूलो जल छ, अर्थात् माटो भन्दा धेरै पानी छ । जलभन्दा ठूलो तेज छ । जललाई पनि सुकाउने तेज नै हो, तेज भन्दा ठूलो वायु छ । वायु भन्दा ठूलो आकाश छ, आकाश भन्दा पनि ठूलो मन छ, मन भन्दा ठूलो बुद्धि छ । बुद्धि भन्दा बलवान काल छ अर्थात् समय ज्ञानद्वारा बुद्धि निर्मल पार्ने, वुद्धिद्वारा मनलाई शोधन गर्ने, मनले इन्द्रियलाई शोधन गर्नु पर्छ ।
सामाजिक प्राणी मानव सबैको सहारा पनि हो । बाँच र बाँच्न देऊ सबैको मान्यता हो । मानव सुरक्षाको महत्वपूर्ण पक्ष भनेको गरीबी न्युनीकरण नै हो । नाना, छाना, खाना, शिक्षा, स्वास्थ न्यूनतम आवश्यकता नै हो । हाम्रो देशमा सम्विधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रुपमा हेरेको छ । ज्येष्ठ नागरिकका अनेकौ अनुभव सीप र ज्ञान हुन सक्दछ । जापानले गरेको विकास ज्येष्ठ नागरिकको सम्मानबाट हो अनि थाइल्याण्डले गरेको प्रगति नयाँ र जोसिला युवा पुस्ताप्रतिको विश्वासले हो । हामी कहाँ ज्येष्ठ नागरिकहरु बेसहारा हुँदैछन् भने नयाँ पुस्ता कोही शहरमुखी भएका छन्, कतिपय कुलतमा छन् भने लाखौं युवाशक्ति विदेशिएका छन् । बाबुले जानेको सीप सन्ततिमा सर्न सकेको छैन पुस्तान्तरणमा ठूलो रिक्तता छ, तिक्तता छ । सरकारले भनेको छ–ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्ता हस्तान्तरण हुने गरी संघ–प्रदेश र स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने । गरीबीको रेखामुनि रहेका परिवार र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ बिमा गर्ने, सत्तरी वर्ष माथिका सबै ज्येष्ठ नागरिकको एक लाख रुपैयाँसम्मको बिमांक रकमको स्वास्थ बिमा निःशुल्क गर्ने, स्वास्थ बिमा सेवाको दायरा बढाउने जस्ता नाराहरु पनि सरकारले लिएको देखिन्छ । सबै नागरिकलाई सुंरक्षित भएको अनुभूति हुने गरी सरकारी कार्यक्रम सञ्चालन हुने घोषणा पनि गरेको छ । न केवल ज्येष्ठ नागरिक, बालबालिका संरक्षण गर्ने पनि सरकारी नारा छ । पीडित परिवार, घाइतेको सामाजिक सुरक्षा उत्तिकै आवश्यक देखिएको छ । मुलुकमा गरीबीको मनोविज्ञान हटाउनु परेको छ, आत्मविश्वास जगाउनु परेको छ । भोकै कोही नमर्ने, कोही भोको पेट नरहने सरकारी नारा छ, मिठा नाराझैं व्यवहारिक रोजगारी कार्यक्रम भने आउन सकेका छैनन् । आफ्नो हेरचाह आफैं गर्न नसक्नेहरु धेरै छन् हामीकहाँ । तिनको स्वास्थ उपचार, दिवा खाजा, विद्यार्थी छात्रवृत्ति, रोजगारी शिक्षा, व्यावसायिक तालिम जस्ता कार्यक्रमहरुबाट लाखौं नेपालीहरुलाई ढाडस् दिनु परेको छ । अवकाश प्राप्त कर्मचारीको अनुभव र सीप उनीहरुले पाएको व्यावसायिक ज्ञानको पनि सदुपयोग हुन जरुरी छ ।
निजामती कर्मचारी, प्राध्यापक, शिक्षक, सेना, प्रहरी लाखौं व्यक्तिहरु छन्, सामाजिक सुरक्षामा समेट्नु पर्ने । वित्तीय रुपले दरो नभई यी सबै प्रति सहानुभूति राख्न कठिन हुन्छ । नीतिगत र कानुनी एवं नियमनकारी प्रारुप तयार हुनु पर्छ । सामाजिक सुरक्षालाई आर्थिक र सामाजिक विकासको पक्षमा जोड्नु पर्छ । सबैै कार्यक्रमलाई प्रभावकारी बनाई लोक कल्याणकारी समाजको सिर्जना गर्ने अभिष्ट पूरा गर्न जरुरी छ । युवाको जोस जाँगरलाई सदुपयोग गर्नु पर्दछ । लैगिंक, जातीय छुवाछुतको अन्त्य हुनु पर्दछ, अर्थात् सामाजिक विभेदको अन्त्य हुनु पर्दछ । युवा परिचालनबाट मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपण जस्ता व्यवहारिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सबैको श्रमको मूल्यांकन हुनु जरुरी छ । समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नति नभई मुलुक समृद्ध हुन सक्दैन । सबै नउठी एक्लो देश उठ्न सक्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies