काठमाडौँ : सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणलाई तिव्रता दिने बताएको छ । वैशाख २४ गतेभित्रै क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट निर्माणको सम्पन्न हुने सरकारले बताएको छ ।
बिहीबार निर्माणाधीन मैदानको निरीक्षण गर्न गएका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै पूरा गर्न तीव्र गतिमा काम भइरहेको बताए । उनले तीन चरणमा निर्माण कार्य अघि बढाइएको बताए ।
फ्लडलाइट जडान र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिने रहेछ भनेर देखाउन सकिने उनले बताए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकमा क्रिकेट मैदान निर्माणको निर्णय गरेको र समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ३ सिफ्टमा काम भइरहेको र समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे ।
फ्लडलाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ । मैदानको प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको छ ।