काठमाडौं: वैदेशिक रोजगारीमा साउदी अरेबिया जाने नेपाली कामदारलाई पोलियो भाइरसविरुद्वको खोप पनि अनिवार्य गरेको छ । उक्त खोप गत १० फेब्रुअरीदेखि अनिवार्य गरिएको हो । साउदी अरेबियामा उडान भर्दै आएको नेपाली निजी विमान कम्पनी हिमालयन एयरलाइन्सले एक सूचना जारी गर्दै साउदी नागरिक र आवासीय भिसाबाहकलाई पोलियो भाइरसविरुद्वको खोप अनिवार्य गरिएको बताएको छ ।
पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । सन् २०१४ मा पोलियोमुक्त घोषणा भएको नेपालमा केही समयअघि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पोलियोका बिरामी देखापरेका थिए । सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्य छ ।
साउदी अरेबिया जाने कामदारलाई केही दिनअघि अमेनिन्गोकोकल नामको खोप पनि अनिवार्य गरिएको थियो । मेनिन्गोकोकल एक प्रकारको ब्याक्टेरिया भएको तथा त्यसले मस्तिष्क र मेरुदण्डको वरिपरि रहेको पातलो तन्तुको सुजन गराउने रक्त प्रवाहको गम्भीर सरुवा संक्रमण निम्याउने बताइन्छ । साउदी अरेबियाले हजका लागि आफ्नो मुलुक प्रवेश गर्दा मेनिन्गोकोकल संक्रमणविरुद्वको खोप अनिवार्य गरेको छ ।
साधारण अवस्थामा १ डोजको ३ हजार ५०० रुपैयाँ पर्ने उक्त खोपको मूल्य हाल ९ हजारसम्म पुर्याइएका कारण काम गर्न जाने कमजोर आर्थिक अवस्थाका कामदारलाई समस्या पारेको छ । एक व्यक्तिबाट सजिलोसँग अर्को व्यक्तिमा फैलिन सक्ने भएकाले साउदी अरेबियाले बढी नै सतर्कताका साथ उक्त खोप लगाए/नलगाएको निगरानी गर्ने गरेकोे छ ।