साउदी अरेयिबा : वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले मुलुकको गरिबी घटाउन दिएको योगदानको तुलनामा नेपाली कामदारहरू अकालमा ज्यान गुमाउँदा समाज र परिवारका लागि त्यसको मूल्य चर्को देखिएको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपाली कामदारमध्ये विगत ९ महिनामा मात्र १३६ जनाले अकालमा ज्यान गुमाएका छन् । साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि १० चैतसम्मको अवधिमा विभिन्न कारणले मृत्यु भएकामध्ये १२१ जनाको शव नेपाल पठाइसकिएको छ भने बाँकी १५ शव पठाउने प्रक्रियामा छ ।
मृत्यु भएका नेपाली कामदारमध्ये कतिपयको मृत्युको कारण खुलाइँदैन भने कतिपयले कार्यस्थलमा हुने दुर्घटना, आत्महत्या, ट्राफिक दुर्घटना, पानीमा डुबेर, एस्फिक्सिया वा कालगतिको स्वाभाविक कारणले ज्यान गुमाउने गरेका छन् ।
९ महिनाको अवधिमा साउदी अरेबियामा ज्यान गुमाएकामध्ये प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्या ७० छ भने कार्यस्थलको दुर्घटनामा १६, आत्महत्यामा १६, ट्राफिक दुर्घटनामा २१ र अन्य कारणले पनि नेपालीले ज्यान गुमाएका छन् ।
मृतक कामदारको शव नेपाल पठाउन कम्पनीअनुसार २ हप्तादेखि १ महिनासम्म लाग्ने र आत्महत्याको घटनामा ३ महिनासम्म लाग्न सक्ने दूतावासले जनाएको छ ।
नेपाली राजदूत डा. नरेशविक्रम ढकालले मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेका छन् । उनले बाँकी शवहरू पनि छिट्टै नेपाल पठाउन पहल भइरहेको बताए । पर्यटक दूत तथा एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले पनि यस्तो घटनाले दुःख लागेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
दूतावासले मृतकका परिवारलाई कम्पनीबाट पाउनुपर्ने सेवा सुविधा र बीमा (गोसी) रकम उपलब्ध गराउन प्रक्रिया अगाडि बढाएको जनाएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार आर्थिक वर्ष २०६५÷०६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजारभन्दा धेरै नेपाली कामदारको अकालमा मृत्यु भएको छ ।
नेपाली कामदारको ठूलो संख्या खाडी मुलुक र मलेसियामा रहेकोे छ । जानकारहरूका अनुसार पोस्टमार्टमको अभावमा आधाभन्दा बढी कामदारको मृत्युको कारण स्पष्ट हुन सक्ने अवस्था छैन । रोजगारदाता मुलुकका अस्पतालले स्वाभाविक मृत्यु ’नेचुरल डेथ’ वा ‘हृदयघात’ जस्ता कारण उल्लेख गरेर मृत्युको वास्तविक कारण नखोजी शव नेपाल पठाउने गर्दा मृतकका परिवारलाई लामो समयसम्म प्रियजनको मृत्युको वास्तविक कारणबारे जानकारी नहुने पीडादायी अवस्था छ ।
मृत्युको वास्तविकता कारणको खोजीभन्दा सहजै शव बुझ्ने नेपालका कूटनीतिक नियोगहरूका कमजोरीले पनि कामदारको मृत्युको वास्तविक कारण खुल्न नसकेको कतिपयको टिप्पणी छ ।
कार्यस्थलमा शौचालयको पर्याप्त व्यवस्था नहुँदा कतिपय कामदार लामो समय पिसाब च्यापेर बस्ने र कतिपय कामदारले पर्याप्त पानी पिउन नपाउँदा कलिलो उमेरमा नै मिर्गौला गुमाउने अवस्थामा पुगेका छन् ।
चिसो हावापानीमा हुर्केका नेपाली अस्वाभाविक गर्मी ‘हिट स्ट्रेस’ले प्रजनन क्षमतामा पनि ह्रास आइरहेको नेपाली चिकित्सकहरू बताउँछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिह भण्डारीले पछिल्ला वर्षमा मुख्य गरेर उच्च तापक्रमले निम्याउने ‘हिट स्ट्रेस’ले मुटु र मिर्गौलामा संक्रमण बढेको भन्दै यसमा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था जिम्मेवार हुनुपर्ने र मेडिकल रिपोर्टको डिजिटलाइजेसनले स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने बताउँदै आएका छन् ।
उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा लापरबाही गर्नेलाई छुट नदिने चेतावनी दोहो¥याइरहेका छन् । सर्ने तथा नसर्ने रोगहरूको स्वरूपमा परिवर्तन भएको तर स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम सोअनुसार हुन नसकेको कतिपयको टिप्पणी छ ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ । मृतकका परिवारले पाउने क्षतिपूर्ति रकम वृद्वि सकारात्मक भए पनि पर्याप्त मात्रामा जनचेतनाका कार्यक्रम नहुँदा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउँदा कामदारका बालबालिका तथा आश्रित परिवारले चुकाउनुपरेको मूल्य अत्यन्तै चर्को रहेकोे कतिपय अध्ययनले उजागर गरेका छन् ।