काठमाडौंः वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने कामदारलाई श्रम स्वीकृतिअघि अनिवार्य रूपमा दिँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिमको क्लस्टर अपडेट गर्ने बताएको छ ।
विभागले त्यसका लागि ३१ चैतसम्म आवेदन दिन अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई आह्वान गरेको छ । यसअघि एउटा संस्थाले एउटा मात्र क्लस्टरमा तालिम दिन पाउने व्यवस्था थियोे । विभागले अब २ वटासम्म क्लस्टरमा तालिम प्रदान गर्न अनुमति दिने बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुअघिको तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन देशगत तालिमको व्यवस्था गर्दै तालिम कार्यविधि, २०७६ मा दोस्रो संशोधन गरेको हो ।
गत माघमा देशगत समूह (क्लस्टर) छान्न सार्वजनिक सूचना जारी गर्दा १४३ वटा तालिम प्रदायक संस्थाले तोकिएअनुसारको पूर्वाधार निर्माण गरी देशगत क्लस्टर रोजेका थिए । हाल उनीहरूले छुट्याइएको क्लस्टरअनुसारको देशको मापदण्डअनुसार तालिम दिँदै आएका छन् ।
यसअनुसार हाल गल्फ कोअर्डिनेसन काउन्सिल (जीसीसी)अन्तर्गतका खाडी मुलुक साउदी अरेयिबा, कतार, कुवेत, यूएई, बहराइन र ओमानका लागि १०२ वटा, टर्की र साइप्रससहित युरोप समूहका लागि २४ वटा, जापान, कोरिया समूहका लागि ९ वटा, मलेसियाका लागि ६ वटा, जीसीसीमा आबद्व नभएका अन्य क्लस्टरमा समावेश नभएका एसिया, अफ्रिका र अमेरिका महादेशबाहेकका लागि २ वटा र इजरायलका लागि सरकारी तालिम केन्द्र छुट्याइएको छ ।
तर, उक्त क्लस्टर कार्यान्वयन गर्ने सन्दर्भमा क्लस्टर असन्तुलित भएका कारण वैदेशिक रोजगारमा अफ्रिकी देश, माल्दिभ्स, श्रीलंकालगायतका देशमा वैदेशिक रोजगारीमा जान चाहने कामदारको समूह स्पष्ट नभएकाले ती देशमा वैदेशिक रोजगारीमा जानेहरू तालिम केन्द्र खोज्दै भौंतारिनुपरेको थियो ।
विभागले हाल उनीहरूलाई जीसीसी आबद्ध नभएका देशहरूमा राखेको छ । नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले विभागको सूचनाले समस्याको समाधान भएको र कार्यविधिमा उल्लेख भएको शुल्क पनि कार्यान्वयनमा आएको टिप्पणी गरे ।