जुनू घिमिरे
कसैले विक्रीको आह्वान गर्दा बेचिने
कसैले नियन्त्रणमा लिँदा नियन्त्रित हुने
शरीर होइन मेरो
आमा बेचेर देश बनाउने
सपना देख्छौ तिमी ।
बहिनीको योनी खुल्ला गरेर
घरभित्र पिचास भित्र्याउन चाहन्छौ
दिदीका स्तनलाई खेल मैदान बनाएर
रेफ्री बन्न खोज्दै छौ
हो महाशय ! तिम्रा निकृष्ट नजर
तिम्रै फुपू, भाउजू, भान्जीको
नितम्बमा पर्यो
र, काँचो मासु बेच्ने योजना
अगाडि सार्यौ ।
यही भूमि हो
सतीदेवीको गुह्य पतन भएको ठाउँ
जो आजसम्म पूजित छ
देखाउनलाई कयौं धार्मिक इतिहास छन्
सांस्कृतिक सभ्यता छन्
मानव निर्मित कला कौशलदेखि
सुन्दर प्रकृति छ
जसले देशलाई
समृद्धिको बाटोमा हिँडाउन सक्छ
तर, तिमी
नारीका गुप्तांग देखाएर
डलरको स्वाद चाख्न चाहन्छौ
किनकि,
तिमी व्यापारी भइसक्यौ ।
सिमाना बेच्न नहिच्किचाएका तिमी
माग गरिरहेछौ
नारीको इज्जत बेच्ने कानुन
जसरी भारी सभामा दुशासनले
एक नारी निर्वस्त्र गर्न खोजे
त्यस्तै सभामा उभिएर नारीमाथि
धावा बोलिरहेछौ महामहिम !
जसलाई यो ज्ञान नहुन सक्छ
सन्तान कुपुत्रो भए
कुन्तिले झैं
आँखा चिम्लिन सक्छन् आमाहरूले
होसियार !
कुबाटो हिँड्न खोज्ने कर्णहरू !