काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले तालमेलका आधारमा प्यानल घोषणा गरेका छन् ।
एसोसिएसन नेपाली कांग्रेस र मञ्च नेकपा (माओवादी केन्द्र) निकट संस्था हुन् । संघको ३१औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन आगामी २९ चैतका लागि तोकिएको छ । सो प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ, प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत उम्मेदवार बनेका छन् ।
त्यस्तै, गणतान्त्रिक मञ्चका महासचिव रहेका आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे डिम्दोङ सचिव र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठ उम्मेदवार बनेका छन् । श्रेष्ठ संघको वर्तमान कार्यसमिति सदस्य हुन् ।
कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, ग्लोबल एचआर हब प्रा. लि.की संचालका गीता राउत र युनिक ओभरसिज प्रा. लि.की संचालका तिलरूपा दाहाल उम्मेदवार बनेका छन् ।
त्यस्तै, एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा र रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकाल सदस्यका उम्मेदवार बनेका छन् ।
२१ सदस्यीय संघको कार्यसमितिमा २ सदस्य मञ्चको सिफारिसमा मनोनयन गर्ने एसोसिएसनसँग लिखित सहमति भएको मञ्चका कार्यबाहक अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।
संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटको सभापतित्वमा सम्पन्न उम्मेदवारी घोषणासभामा नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ प्रमुख अतिथि थिए । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समिति सभापति रामहरि खतिवडा, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङ, अब्दुल सतार, नैनसिंह महर, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालको पनि उपस्थिति थियो ।
त्यसैगरी संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार), पूर्वअध्यक्ष बलबहादुर तामाङ, प्रेमबहादुर कटुवाल, हंशराज वाग्ले, एसोसिएसनका अध्यक्ष दीपक थापा, एसोसिएसनका पूर्वअध्यक्षहरू किरणकिशोर घिमिरे, यमबहादुर केसी, वैदेशिक रोजगार व्यवसायी ललितपुर समाजका अध्यक्ष वरिष्ठ व्यवसायी नवराज केसी, वैदेशिक रोजगार व्यवसायी सामाखुसी एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किशन प्रधान, वैदेशिक रोजगार व्यवसायी तमुधिंका अध्यक्ष तिर्थबहादुर केसीलगायत जातीय तथा भेगीय संस्थाका प्रतिनिधि र व्यवसायी पृष्ठभूमि भएका नेपाली कांग्रेस महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरू, वरिष्ठ एवं पुराना तथा युवा व्यबसायीहरुको बाक्लो उपस्थिति थियो ।
एसोसिएसनका कार्यबाहक महासचिव तुलसी पुरीले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष विनोदजंग केसीले स्वागत मन्तव्य राखेका थिए ।
घोषणा सभामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले निर्णय गरेर उम्मेदवार बनाएको भुवनसिंह गुरुङ प्यानल नेपाली कांग्रेसको आधिकारिक रहेको बताए ।
उनले भने, ‘यहाँ केही अग्रज व्यवसायी देखिनुभएको छैन । नेपाली कांग्रेसको कुनै पनि नेताको नाम लिएर असन्तुष्टि पोख्दै आगो लगाउन पाइँदैन । संस्थागत रूपमा निर्णय गरेर आएको छ । गुरुङ प्यानल नै आधिकारिक हो ।’
उनले गुरुङ प्यानललाई जिताउन अत्यधिक पहल गर्न सबैलाई पार्टीको निर्देशन रहेको पनि बताए । उपसभापति गुरुङले निर्णय भएपछि त्यसलाई मान्नुपर्नेमा जोड दिए । उनले भने, ‘चुनाव अगाडि म प्रतिस्पर्धा गर्छु भन्न पाइन्छ तर आधिकारिक निर्णय भएपछि त्यसलाई मान्दिनँ भन्न पाइँदैन ।’