काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही २९ चैतमा हुने निर्वाचनका लागि ३६ जना व्यवसायीको उम्मेदवारी दर्ता भएको छ । संघको २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनीत गर्न पाउँछन् ।
यस पटक संघको निर्वाचनका लागि २ प्यानल सार्वजनिक भएका छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाबीचको तालमेलमा गठित संयुक्त व्यवसायी समूहको अध्यक्षमा संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेसनल सर्भिस प्रा.लि.का संचालक नरेश गेलालले उम्मेदवारी दिएका छन् । सो प्यानललाई राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले पनि समर्थन जनाएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङले उम्मेदवारी दिएका छन् ।
गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की संचालक गीता राउत, युनिभर्स एच.आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
यता, गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनु सिँजालीले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुल, सिगल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादवले उम्मेदवारी दिएका छन् ।
ओभरसिज इम्प्लोइमेन्ट प्रा. लि.का संचालक अख्तर हुसेनले प्रथम उपाध्यक्ष र अक्सन ओभरसिज प्रा. लि.का संचालक ईश्वर सापकोटाले सचिवमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका सदस्य भवानी निरौलाले प्रतिनिधितर्फ ४ र उम्मेदवारतर्फ १ जनाको दाबी विरोध दर्ता भएको र सोमबार माग गरिएका प्रमाणका आधारमा उजुरीको छिनोफानो हुने बताए । उनले उजुरी छानबिनका क्रममा रहेको भन्दै निर्णय नहुँदासम्म गोप्य राख्ने निर्वाचन समितिमा सहमति भएको बताए ।
गेलाल समूहको क्षेत्रीय भेला बसुन्धरामा
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि प्रचारप्रसारका लागि क्षेत्रीय भेलाहरू सुरु भएका छन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा गठित संयुक्त व्यवसायी समूहले बसुन्धरामा क्षेत्रीय भेला सम्पन्न गरेको छ ।
भेलालाई समूहका अध्यक्षका उम्मेदवार नरेश गेलालसहित पदाधिकारीका उम्मेदवार, पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल ढकाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, सुनकोशी गाउँपालिकाका अध्यक्ष एवं संघका पूर्वकार्यबाहक अध्यक्ष कमल तामाङले सम्बोधन गरे ।
अध्यक्षका उम्मेदवार गेलालले संघको भवन आफ्नो लक्ष्य रहेको र हालको कार्यसमितिको अठोटले त्यो काम पूरा भएको भन्दै २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षौंदेखि थाँती रहेका समस्या समाधानको प्रमुख लक्ष्य लिएर योग्यतम् व्यवसायीको प्यानल बनाएर चुनावी मैदानमा आएकाले विश्वासका साथ सिंगो प्यानललाई मतदान गरेर जिताउन आग्रह गरे ।
संघलाई राजनीतिक खिताचानीमुक्त बनाउने र व्यवसायीको रोजीरोटी खोस्न जापान, कोरिया वा मलेसिया जुनसुकै देश र आवरण आउने सिन्डिकेटका विरोधमा आमरण अनशन तहको कठोर अवस्थासम्म पुगेर प्रतिरोध गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘सिन्डिकेटमा समर्थन जनाउनु आमाको रगत खानु सरह हो । अघिल्लो पटक महासचिव हुँदा पनि प्रतिरोध गरेको हो, आगामी दिनमा पनि सशक्त प्रतिरोध हुने छ ।’
उनले मञ्चले आफू अध्यक्ष हुँदा युरोप भ्रमण गरेर रोजगारीको ढोका खोल्न महत्त्वपूर्ण योगदान गरेकोे र हाल नेपाली राजदूतावासमा रहेको इच्छा लागेका फाइल आधा घण्टामा गर्ने र इच्छा नलागेकालाई महिनौं झुलाउने परिपाटी अन्त्य गर्न अटोमेसन पद्धतिका लागि दबाब दिने बताए ।
प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले विगतमा यूएई सिन्डिकेट परास्त गरेकोे र हाल जापान र मलेसियाका नाममा लगाउन खोजिएको सिन्डिकेटलाई पनि परास्त गरिने बताए ।
द्वितीय उपाध्यक्षका उम्मेदवार मधुकर रिजालले वैदेशिक रोजगार ऐनभित्रका समस्या चिर्न आफ्नो उम्मेदवारी रहेको बताए । तृतीय उपाध्यक्षका उम्मेदवार बैकुण्ठ पौडेल वैभवले कूटनीतिक नियोगहरूसँग समन्वय गरेर समस्या समाधान गर्न सकिने अनुभवका आधारमा तृतीय उपाध्यक्षको उम्मेदवार बनेको बताए ।
महासचिव कर्णराज कटुवालले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधान, धरौटीबाट व्यवसायीलाई ब्याज दिलाउनेलगायतका सुधारका लागि उम्मेदवार बनेको बताए । सचिवका उम्मेदवार अनिल बोगटीले व्यवसाय व्यवस्थित गरी सिन्डिकेटको विरोध आफ्नो प्रमुख एजेन्डा भएको बताए ।
कोषाध्यक्षकी उम्मेदवार धनु सिँजालीले संघलाई नवीन आर्थिक सोचका साथ अघि बढाउने बताइन् । मेडिकल बिचौलिया अन्त्य गर्ने, आर्थिक रूपमा मीतव्ययी बनेर व्यवसायीलाई कारोबारको मासिक जानकारी गराउनेलगायतका काम गर्ने उनले प्रतिबद्धता जनाइन् ।
कार्यसमिति सदस्यका सबै उम्मेदवारले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधानका विषयमा प्रतिबद्धता व्यक्त गरे ।
संघका पूर्वअध्यक्ष ढकालले संचार माध्यममा आफूहरूलाई नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष भनेकामा असन्तुष्टि जनाउँदै आफूहरू नेपाली कांग्रेस पार्टीको नीति, उद्देश्य मानेर हिँडेका कारण वास्तविक रूपमा संस्थापन पक्ष आफूहरू भएको बताए । कार्यक्रम मञ्चका उपाध्यक्ष दलवीर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
गुरुङको समूहको क्षेत्रीय भेला ललितपुरमा
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि भुवनसिंह गुरुङ अध्यक्षका उम्मेदवार रहेकोे लोकतान्त्रिक–गणतान्त्रिक समूहले ललितपुरमा क्षेत्रीय चुनावी भेला सम्पन्न गरेको छ । यसअघि राजधानीको तीनकुनेमा क्षेत्रीय भेला सम्पन्न गरेकोे सो प्यानलले आइतबार ललितपुरमा दोस्रो क्षेत्रीय भेला सम्पन्न गरेकोे हो ।
भेलालाई कार्यसमिति पदाधिकारी तथा सदस्यका उम्मेदवारसहित मूल निर्वाचन परिचालन समितिका संयोजकलगायतले सम्बोधन गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, केन्द्रीय सदस्य अब्दुल सतार, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य घनश्याम रजकको आतिथ्य थियो ।
समूहका अध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए ।
गुरुङले कुनै पनि आवरणमा हुने सिन्डिकेटका विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेको बताउँदै विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी सचेत हुनुपर्ने जिकिर गरे ।
प्रथम अध्यक्षका उम्मेदवार नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सुधार गर्न र सिन्डिकेटलगायत व्यवसायीविरोधी गतिविधि रोक्न अधिकतम प्रयास गर्ने समूहको लक्ष्य रहेकोे भन्दै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए ।
नेपाली दूतावासहरूमा मागपत्र प्रमाणीकरणका लागि पेस भएपछि प्राथमिकता सूचीका आधारमा प्रमाणीकरण हुने व्यवस्था स्थापित गर्ने पनि उनको भनाइ छ ।
द्वितीय उपाध्यक्षका उम्मेदवार अलर्ट ओभरसिज प्रा. लि.का संचालक देव खोखालीले वैदेशिक रोजगार विभागमा पीडितका नाममा हुने अराजकताको अन्त्य र व्यवसायी सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
तृतीय उपाध्यक्षका उम्मेदवार इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्क लिम्बूले व्यवसायी एकतामा जोड दिँदै इमान्दार र कर्तव्यनिष्ठ व्यवसायीलाई मत दिन आग्रह गरे ।
महासचिवका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेतले व्यवसायीलाई पेसा टिकाउने अवस्था निर्माण गर्नु महत्त्वपूर्ण भन्दै वैदेशिक रोजगारलाई सेवा उद्योगका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले व्यवसाय र व्यवासयी शुद्धीकरण गरी सम्मानित बनाउने, बिनाप्रमाणका उजुरी दर्ता रोक्न संयन्त्र बनाउने, व्यवसायीलाई अनावश्यक दुःख दिनेको पहिचानका लागि ब्ल्याक लिस्ट सफ्टवेयर निर्माण गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
सचिव पदका उम्मेदवार आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे दिम्दोङले व्यवसायीलाई समस्या र आर्थिक भार पार्नेगरी वैदेशिक रोजगार ऐनमा संशोधन गर्न लागिएको अवस्थामा त्यसलाई रोक्न संघको नेतृत्व इमान्दार, बलियो र प्रभावकारी हुनुपर्ने भन्दै उम्मेदवारको पहिचान गरेर मतदान गर्न आग्रह गरे ।
कोषायक्षका उम्मेदवार शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले विभिन्न स्रोतहरूको खोजी गरी आर्थिक रूपमा संघलाई बलियो बनाउने बताए ।
कार्यक्रममा प्यानलका सदस्यका उम्मेदवारहरूले पनि आ–आफ्ना धारणा र प्रतिबद्धता जनाए । कार्यक्रममा मूल निर्वाचन परिचालन समितिका संयोजक तिलकबहादुर रानाभाट, प्रचारप्रसार समिति संयोजक किरणकिशोर घिमिरे, पूर्वअध्यक्ष यमबहादुर केसी, संघका पूर्वअध्यक्ष हंशराज वाग्ले, एसोसिएसनका अध्यक्ष दीपक थापा, गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष धनलाल जैशी, वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जन, ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष वरिष्ठ व्यवसायी नवराज केसीलगायतको उपस्थिति थियो ।
नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक एसोसिएसनका कार्यबाहक महासचिव तुलसी पुरीले संचालन गरेको कार्यक्रमको सभापतित्व व्यवसायी यमबहादुर केसीले गरेका थिए ।