काठमाडौं :श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिह भण्डारीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन गरेका छन् । मन्त्री भण्डारीले सोमबार सिफलस्थित संघको भवन उद्घाटन गरेका हुन् ।
मन्त्री भण्डारीले ३ दशकमा संघले प्राप्त गरेकोे उपलब्धि गर्व गर्न लायक भन्दै भवनमार्फत रचनात्मक काम गर्न पनि सुझाव दिए ।
रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले ७० प्रतिशत घरधुरीमा वैदेशिक रोजगारलाई सम्मानित पेसाका रूपमा विकास गर्न आग्रह गरे । उनले सरकारले व्यापार नगरी व्यवसायीले नै गर्ने भएकाले सरकारले सहजीकरण गर्न ऐन संशोधनका लागि काम गरिरहेको बताए ।
मन्त्री भण्डारीले ‘डेथ ट्र्याप’ र ‘हिट ट्र्याप’ले वैदेशिक रोजगारमा जाने युवा–युवतीलाई असुुरक्षित गराएको टिप्पणी गरे ।
अहिले पीडितका नाममा दबाब दिने प्रयास भए पनि ठगी गर्ने व्यक्ति वा शैक्षिक कन्सल्टेन्सीमाथिको कारबाही मन्त्रालयका क्षेत्रमा नरहेकाले अन्यत्र उपचार खोज्न आग्रह गरेकोेसमेत मन्त्री भण्डारीले बताए ।
मागपत्र प्रमाणीकरणलगायतका समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयको आवश्यकता महसुस गरी छलफल गरिरहेको पनि जानकारी दिए । त्यस अवसरमा मन्त्री भण्डारीले संघको आगामी निर्वाचनका सबै उम्मेदवारलाई बधाई पनि दिए ।
राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन संघले सबै व्यवसायी र शुभेच्छुकलगायतबाट सहयोग जुटाएर ४ करोड ५३ लाख १४ हजार रुपैयाँमा खरिद गरेको हो ।
संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले संघको भवन खरिदका लागि हालसम्म ४ करोड १० लाख संकलन भई भवन राजीनामा पास गरी लिन ४ करोड ५३ लाख १४ हजार खर्च हुँदा ४३ लाख १४ हजार सापटी लिएको बताएका छन् ।
अध्यक्ष राजेन्द्र भण्डारीले २०४९ सालमा संघ स्थापना भएको उल्लेख गर्दै नेपाली कामदार वैदेशिक रोजगारमा गएका नेपाली ६८ लाख पुगेको बताए । उनीहरूले आर्जन गरेकोे रकमले देशको पुँजी वृद्वि भएकाले यसलाई व्यवस्थित गर्न आफ्नै भवन खरिद गरेको जानकारी दिए ।
कतिपय व्यवसायीलाई ४०औं पटक भेटेर सहयोग जुटाएको उनले बताए । अध्यक्ष भण्डारीले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलको पहलकदमीमा ४७ लाख रुपैयाँ प्राप्त गरेको, सल्लाहकार रघुनाथ पुरीले १४ लाख बराबर, वरिष्ठ व्यवसायी नवराज केसीले १३ लाख ३३ हजार बढी सहयोग गरेर कार्य सम्पन्न गर्न हौसला दिएको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले वैदेशिक रोजगारमार्फत प्राप्त रेमिट्यान्स परिचालन गरी देशको अर्थतन्त्र मजबुत बनेकाले वैदेशिक रोजगार व्यवसायीको योगदान उल्लेख्य रहेकोे बताए ।
संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमारले संघलाई आफ्नै स्वामित्वको भवन बनाउन करिब ३२ बर्ष लागेको भन्दै भवन खरिदका लागि योगदान गर्ने सबैलाई धन्यवाद र आभार व्यक्त गरे ।
संघले डेढ दशक अगाडि संघका पूर्वअध्यक्ष दानबहादुर तामाङको कार्यकालमा राजधानीको सिनामंगलमा संघको भवन बनाउन करिब साढे ७ आना जग्गा खरिद गरेको थियोे ।
कार्यक्रममा पूर्वअध्यक्ष विमलप्रसाद ढकाल, बलबहादुर तामाङ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, प्याराडाइज इन्टरनेसनल प्रा. लि.का संचालक, संघका पूर्वसल्लाहकार तथा ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष नवराज केसी, एकीकृत बैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष सन्तबहादुर लामा र कार्यसमिति सदस्य, सल्लाहकार, महिला व्यवसायी सीतादेवी देवकोटालगायतको उपस्थिति थियो ।
संघको नाममा भवन रहेको जग्गाको लालपुर्जा प्राप्त भएपछि उक्त भवनका लागि मध्यान्ह राष्ट्रिय दैनिकले पनि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो । खत्रीले भवन खरिदका लागि सबै व्यवसायीको उल्लेख्य योगदान रहेको भन्दै व्यवसायीको सम्मानका लागि नाम सार्वजनिक गरिएको बताएका छन् ।
संघको भवन खरिदका लागि ५३ लाख ६१ हजार सहयोग जुटाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले अर्को भवन खरिदका लागि ४७ लाख रुपैयाँ जुटाउने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रम संचालन गरेका महासचिव मेघनाथ भुर्तेलले संख्या सय, घरेलुु कामदार, सेवा शुल्क परिमार्जनका लागि मन्त्रालयले सकारात्मक भूमिका खेल्नुपर्ने उल्लेख गरे ।