काठमाडौं : नेपाल पानी जहाज कार्यालयबाट उद्योग सञ्चालन अनुमति नलिइ व्यावसायिक रुपमा पानी जहाज सञ्चालन गर्न नपाइने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमाथिको दफावार छलफलमा उक्त प्रस्ताव गरिएको हो । समिति उपसचिव नुमराज खनाल शर्माले कुनैपनि व्यक्ति वा संस्थाले पानी जहाज सेवा सञ्चालन गर्नको लागि कार्यालयमा निवेदन दिएर स्वीकृति लिनुपर्ने प्रस्ताव भएको सुनाए ।
उद्योगको आर्थिक तथा प्राविधिक पक्ष, व्यवस्थापकीय क्षमता र सार्वजनिक हितलाई समेत ध्यानमा राखि तोकिएबमोजिम मूल्यांकन गर्दा आवश्यक शर्त पूरा गरेको पाइए कार्यालयले पानी जहाज उद्योग सञ्चालन गर्न अनुमति दिनसक्ने उपसचिव शर्माले बताए ।
नेपाल पानी जहाज कार्यालयका कायममुकायम रजिष्ट्रार मणिराम भुसालले नेपालले आफ्नै पानीजहाज खरिद गरी विदेशी समुद्रहरूमा चलाउन कानुनी व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालमा सञ्चालन हुने पानी जहाजमा नेपाली सरकारको ८० प्रतिशत लगानी राख्न प्रस्ताव गरे । एउटै जहाज अर्बौं रुपैयाँको पर्ने भएका कारण नेपाली नागरिकले लगानी गर्नसक्ने स्थिति नहुँदा सरकारले ८० प्रतिशत लगानी गर्नुपर्ने उनको भनाइ छ ।
भारतलगायतका देशहरूका समुद्रमा पानीजहाज खरिद गरी सञ्चालन गर्न सरकारले विधेयक तर्जुमा गरिरहेको बताइएको छ ।