प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल नरेश गेलाल समूहका निर्वाचन परिचालन समितिका संयोजक हुन् । विगतमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनसँग सिधा प्रतिस्पर्धा गर्ने मञ्च यस पटक भने एसोसिएसनको निर्णयमा फरक दृष्टिकोण राख्ने पक्षसँग तालमेल गरेर चुनावी मैदानमा छ । प्रस्तुत छ, संयोजक पोखरेलसँग संघको निर्वाचनको सन्दर्भमा मध्यान्हले गरेको कुराकानीको सम्पादित अंश :
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नरेश गेलाल नेतृत्वको संयुक्त व्यवसायी समूहको निर्वाचन परिचालनमा हुनुहुन्छ । तयारी कस्तो छ ?
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अर्को पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको नरेश गेलाल प्यानलले राजधानीका विभिन्न क्षेत्रमा क्षेत्रीय भेलाहरू सम्पन्न गरेकोे छ ।
अत्यन्तै प्रखर, अनुभवी र क्षमतावान् व्यवसायीहरू रहेकोे अत्यन्तै सन्तुलित प्यानल बनेका कारण आमव्यवसायीमा नयाँ उत्साह देखिएको छ । सिन्डिकेट रोक्न र संघलाई राजनीतिबाट बाहिर निकालेर व्यवसायीका हक–हितका कार्यमा प्रभावकारी बनाउन आफूले त्यागेर भए पनि तालमेल र सहकार्य गरिएको छ ।
प्रमुख ३ घटकको उम्मेदवार प्यानलमा तालमेल, तराईका सबै व्यवसायी र प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संगठनको समर्थनले टिम अतिबलियो अवस्थामा रहेकोे छ । जित सुनिश्चित भइसकेको देखिन्छ ।
संयुक्त प्यानलले संघ कसरी प्रभावकारी हुन्छ ?
एउटा मात्र लोभलाग्दो र ऐतिहासिक उपलब्धि त भर्खरै हात परेको छ । संघको वर्तमान कार्यसमितिको अठोटका कारण केही असामाजिक सोच बोक्नेलाई छाड्ने हो भने, हामी सबैको योगदानबाट ठूलो भवन खरिद गर्न सफल भयौं । सर्भिस चार्ज र अन्य समस्या पनि हाम्रो एकताले समाधान दिने छ ।
भवन उद्घाटनका अवसरमा जे–जति प्रतिक्रिया पायौं, त्यसले वैदेशिक रोजगार क्षेत्र र सिंगो व्यवसायीको प्रतिष्ठालाई एकै पटक माथि उठाएको छ । वैदेशिक रोजगार क्षेत्रका प्रमुख शक्तिहरूको एकता र सहकार्यले इजाजत नवीकरणका लागि अनिवार्य गरिएको संख्या सय समस्या समाधान, मागपत्र प्रमाणीकरणमा सहजता, लागत परिभाषित गरेर सेवा शुल्क परिमार्जन, व्यवसायी भलाइ कोष कार्यान्वयन, वैदेशिक रोजगार ऐनमा संशोधन, युरोपेली देशमा नयाँ श्रम गन्तव्यहरूको खोजी जस्ता थाँती रहेका समस्या समाधान हुने छन् ।
हाम्रो एकताले सरकारका सबै निकाय र राजनीतिक दलहरूलाई सकारात्मक दबाब दिने छ । हामी विभाजित भयौं भने समस्या जहीँको तहीँ रहने मात्र नभएर थप नयाँनयाँ समस्या सिर्जना गरेर थोपर्ने काम हुन्छ । त्यस कारण हामीले व्यवसायीलाई बृहत् एकताको पक्षमा उभिन आह्वान गरिरहेका छौं ।
तपाईंहरूको प्यानलका मुख्य एजेन्डा के–के छन् ?
वैदेशिक रोजगार क्षेत्र त्रासपूर्ण अवस्थामा छ । हाल विशेषगरी संख्या सयको बाध्यता हटाएर सधैंका लागि समस्या समाधान गर्न संसद्मा विचाराधीन अवस्थामा रहेको वैदेशिक रोजगार ऐनको संशोधन विधेयक पारित गराउन भूमिका खेल्नुपर्ने बाध्यात्मक अवस्था एकातिर छ भने सिन्डिकेटको विषयमा त्रसित अवस्थामा रहेका व्यवसायीलाई सुरक्षा प्रदान गर्नुपर्ने छ ।
हिजो सिन्डिकेट लगाएर व्यक्तिगत लाभ प्राप्त गरेकोे तत्त्व संघमा कमजोर नेतृत्व स्थापित गरेर पर्दा पछाडिबाट लाभ लिने चेष्टामा देखिन्छ । सिन्डिकेटलाई परास्त गर्न सकिएन भने धेरै व्यवसायीले पेसा व्यवसायबाट सधैंभरिका लागि हात धुनुपर्ने खतरा छ । यसमा हामी गम्भीर छौं ।
सिन्डिकेटको विषय विगतमा जस्तै यस पटक पनि चुनावी नारा बनेको छ । एक प्यानलले अर्कोतिर आक्षेप लगाउने गरेकाले अन्योल बढाएको व्यवसायीहरू बताउँछन् । तपाईं प्रस्ट चित्र देखाउन सक्नुहुन्छ ?
यो त घामजत्तिकै छर्लंग छ, जो विगतमा सिन्डिकेटबाट लाभ लिएका र गैरव्यवसायी भइसकेकाहरू अगुवा भएर अर्ती उपदेश दिँदै हिँडेका छन् । यति प्रस्ट भएको विषय बुझ्दैन कसैले भने त्यस्तो व्यवसायी व्यवसायी नै हुन सक्दैन ।
अन्त्यमा व्यवसायीहरूलाई तपाईंको भनाइ वा आह्वान के छ ?
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको टिम र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको नरेश गेलाल प्यानललाई मतदान गर्न मेरो आह्वान छ ।
विगतमा मञ्चमा रहेर महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका साथीहरू केही कारणले असन्तुष्ट रहेका भए पनि नरेश गेलाल प्यानलका सबै उम्मेदवारहरूलाई मतदान गरेर जिताउन आह्वान गर्छु ।
लामो प्रयासपछि संघ एउटा लय र सकारात्मक गतिमा अगाडि बढेको छ । व्यवसायीको एकताले मात्र संघको नेतृत्व र व्यवसायीको सामाजिक प्रतिष्ठा बढ्ने भएकाले असन्तुष्टि थाँती राखेर मतदानमा सहभागी हुन आग्रह गर्छु ।