काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गरिने बताएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले देशभित्र रोजगारीका अवसरहरु सिर्जना गर्ने र देशका नागरिकहरुलाई खुसीका साथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताए । उनले अहिले नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरुले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरु फुर्ति र सीप लिएर फर्किरहेको बताए । उनीहरुले आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको मन्त्री पौडेलको धारणा थियो ।
उपप्रधानमन्त्री पौडेलले आज नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउन सक्ने, आर्थिक उपार्जन गर्न सक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किन सक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताए ।