काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सरकार वैदेशिक राेजगार व्यवसायी र कामदारको सुरक्षामा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल वैदेशिक राेजगार व्यवसायी संघको ३० र ३१ औं साधारणसभा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
अर्थमन्त्री पाैडेलले व्यवसायीले उठाउँदै आएका संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, लागतकाे परिभाषा गरी सेवा शुल्क परिमार्जनकाे विषयमा जानकार रहेको बताए ।
सरकार बजेट निर्माणकाे तयारीमा रहेको अवस्थामा सार्वजनिक मञ्चबाट ती विषयमा बाेल्नु उचित नहुने, तर आन्तरिक राेजगारीकाे पर्याप्तता नभएको अवस्थामा अन्तर्राष्ट्रिय श्रम बजारमा जाने व्यवस्थालाई सुरक्षित बनाउनुको विकल्प नरहेको बताए ।
श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मुलुककाे अर्थतन्त्रमा वैदेशिक राेजगार व्यवसायीको याेगदानकाे कदर गर्न सरकार तयार रहेको भन्दै संख्या सयलगायतका समस्या समाधानदेखि मागपत्र प्रमाणीकरणका समस्या समाधान हुने बताए । मन्त्री भण्डारीले मागपत्र प्रमाणीकरण समस्या आगामी १ महिनामा समाधान हुने बताए । उनले यूएईमा नेपाली कामदारको न्यूनतम तलब १ हजार रियाल कायम गराउने प्रयासमा सरकार रहेको बताए ।
प्राेटाेकल मिलाएर घरेलु कामदार पठाउनेलगायतका विषयमा सरकार सुधारका लागि तयार रहेको, तर व्यवसायी कामदारका अधिकारका पक्षमा इमानदार हुन जरुरी रहेको उनले बताए ।
साधारणसभालाई संघका पूर्वअध्यक्ष तथा सांसद लालप्रसाद साँवा लिम्बू, विमल ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाललगायतले शुभकामना दिए ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक राेजगार व्यवसायी सधैंभरि विदेशमा कामदार पठाउने मात्रै उद्देश्य नभएर सीपयुक्त कामदार पठाउनुपर्ने पक्षमा रहेको बताए । अध्यक्ष भण्डारीले लागत निर्धारण गरेर सेवा शुल्क नहुँदासम्म कामदार ठगीमा पर्ने भएकाले १ महिनाकाे तलब बराबरको रकम सेवा शुल्क ताेक्दा कामदार सुरक्षित, सरकारले कर प्राप्ति र व्यवसायी मर्यादित हुने उल्लेख गरे ।
स्वागत मन्तव्य राखेका महासचिव मेघनाथ भुर्तेलले मागपत्र प्रमाणीकरणमा ढिलाइ हुँदा सीपयुक्त जनशक्ति भिजिट भिसामा विदेश जान बाध्य भएकाे र बिचाैलियाले लाभ लिएको बताउँदै यस्ता समस्या समाधानका लागि सरकारकाे ध्यानाकर्षण गरे ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारलगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभामा संघको भवन खरिदमा याेगदान दिने मध्यान्ह राष्ट्रिय दैनिकलगायत व्यवसायी, संघका पूर्वअध्यक्ष, संघमा कार्यरत कर्मचारीलगायतलाई सम्मान गरिएको छ ।
संघको साधारणसभाले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेपछि शुक्रबार नै आगामी २ वर्षे कार्यकालका लागि निर्वाचन गरिने भएको छ । निर्वाचनका लागि ८९३ प्रतिनिधि ताेकिएको महासचिव भुर्तेलले जानकारी दिए ।
संघको २१ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्य प्रत्यक्ष मतदानबाट निर्वाचित हुने छन् । ४ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । कार्यसमितिका लागि २ प्यानलका ३४ र स्वतन्त्र २ गरी ३६ जनाको उम्मेदवारी परेको छ । संघको निर्वाचन मतपत्रका आधारमा हुने छ ।
संघको निर्वाचनका लागि उम्मेदवारी दिएका दुवै प्यानलले बुधबार अन्तिम चुनावी सभामार्फत आ–आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका थिए ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलबाट संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ अध्यक्षका उम्मेदवार छन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अर्को पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहबाट संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल अध्यक्षका उम्मेदवार छन् । गेलाल एचआर इन्टरनेसनल सर्भिस प्रा. लि.का संचालक हुन् ।
बुधबार गेलाल प्यानलले बसुन्धरा पार्टी प्यालेस र गुरुङ प्यानलले यती इभेन्ट्समा अन्तिम चुनावी सभा गरेका थिए । कार्यक्रमस्थल करिब डेढ मिनेटको दुरीमा रहेका कारण मतदाता व्यवसायी दुवै प्यानलको प्रतिबद्धता र एजेन्डा सुन्न दुवैतिर ओहोरदोहोर गरिरहेका देखिन्थे ।
चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका छन् ।
गुरुङ प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का संचालक कैलाश पाठक, युनिभर्सल एचआर सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
उता, गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनु सिँजालीले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इप्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुल, सिगल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादवले उम्मेदवारी दिएका छन् ।
प्यानलबाहिर रहेर प्रथम उपाध्यक्षमा अख्तर हुसेन र सचिवमा व्यवसायी ईश्वर सापकोटाले उम्मेदवारी दिएका छन् ।