पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.३, बेलासपुरबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरको टोलीले शंकास्पद चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । महेशपुरबाट परासीतर्फ आउँदै गरेका दुईवटा भारतीय मोटरसाइकलमा सवार तीन जना भारतीय नागरिकले पतञ्जलीको पिठोको प्याकेटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा १४९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरका सूचना अधिकारी यज्ञमान साउथका अनुसार उक्त ब्राउन सुगर १५ लाख रुपैयाँ बराबरको रहेको छ ।
पक्राउ परेका ती भारतीय नागरिकहरूमाथि हाल थप अनुसन्धान भइरहेको छ भने लागुऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।