२०८२ वैशाख १ गते सोमवार / Apr 14 , 2025 , Monday
२०८२ वैशाख १ गते सोमवार
Ads

संयमता अपनाऊ, नीति बनाऊ 

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते ०७:२०
संयमता अपनाऊ, नीति बनाऊ 

पर्साको वीरगञ्जमा शनिबार दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश नै जारी गर्नुपर्‍यो । विश्व हिन्दू परिषद् नेपाल वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्राका क्रममा झडप भएको हो । झडप श्रीराम हलस्थित जामा मस्जिद अगाडि भएको छ । यसलाई दुई धार्मिक आस्था राख्नेबीचको झडप भनेर प्रचार गर्न खोजिएको छ । नेपालमा पछिल्ला केही वर्षमा यस प्रकारका प्रयास भइरहेका छन्– ताकि धार्मिक रुपमा नेपाली समाजलाई विभाजित देखाउन सकियोस् । 

एकातिर नेपाललाई हिन्दु सापेक्ष मुलुक बनाउनुपर्छ भनेर प्रदर्शन भइराखेका छन् । अर्कोतिर अन्तरधर्म द्वन्द्व देखाउने प्रयास भइरहेका छन् । यसअघि सुनसरी, बाँके लगायतका जिल्लाका केही स्थानमा यस प्रकारका प्रयास भएका थिए । यसबारे सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । सामाजिक सद्भावको विषयमा आवश्यक सचेतना फैलाउन, गलत मनासाय राख्नेहरूको विवरण संकलन गर्न र सुरक्षाको पूर्वतयारीमा सरकारले ध्यान दिन आवश्यक छ । ताकि गलत मनासायसहित धार्मिक द्वन्द्व देखाउने प्रयास रोकिन सक्छ । 
नेपाल विविधतामा एकता भएको मुलुक हो । यहाँ सदिऔंदेखि बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक एकता छ । अन्तरधर्मको सम्मान नेपाली समाजको विशेषता र परिचय हो । नेपाली संस्कृति भन्नेबित्तिकै धार्मिक सद्भाव, पर्व, खानपान, जीवनशैली आदि पर्छन् । यी विषय सामाजिक रीतिरिवाज, संस्कृति र धर्मसँग जोडिएको छ । बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातिय विशेषताले गर्दा नेपाल विश्व मानचित्रमा धार्मिक पर्यटकका हिसाबले पनि महत्वपूर्ण छ । यही विशेषता संसारलाई देखाएर नेपालले आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छ । यस निम्ति सरकार योजनावद्ध रुपमा अगाडि बढ्न आवश्यक छ । 

संविधानले सबै प्रकारका विविधताको संरक्षण र सम्मान गर्ने नीति लिएको छ । यस अन्तर्गत धर्मनिरपेक्ष राज्य घोषित भएको हो । धर्मनिरपेक्षताबारे स्पष्ट पार्दै संविधानमा सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता भनिएको छ । सनातन धर्म भन्नेबित्तिकै कतिपयले हिन्दु धर्म सम्झन्छन् । तर सनातन धर्म भनेको प्राचीन कालदेखि निरन्तर प्रयोगमा रहँदै आएका सबै धर्म हुन् । नेपालको सन्दर्भमा हिन्दु, किराँत, बौद्ध, इसाई धर्म सनातन धर्म हुन् । अर्थात, संविधानले सबै धर्म–संस्कृतिलाई संरक्षणको वाचा गर्दै स्वतन्त्रता समेत दिएको छ । धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास, संरक्षण र प्रवद्र्धन गर्ने स्वतन्त्रता छ । यसअन्तर्गत प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक छ । यसको सम्मान गर्दा संविधानको मर्म र भावनाको कदर हुनुका साथै सच्चा नेपालीको परिचय दिन सकिन्छ । यसतर्फ राज्य र सरोकारवालाहरू समेत सजग र सचेत हुन सक्दा नेपाल आपसी सद्भाव र सहिष्णुतासहितको विकासमा अगाडि बढ्न सक्दछ । 
 

ADV

सम्बन्धित खबर

Advertise