२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

म ढाँट्दा पनि ढाँट्दिनँ, कसम पनि खान्नँ : नवनिर्वाचित अध्यक्ष गुरुङ

draupadi film
मध्यान्ह
२०८२ वैशाख १ गते ०६:१५
म ढाँट्दा पनि ढाँट्दिनँ, कसम पनि खान्नँ : नवनिर्वाचित अध्यक्ष गुरुङ

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार प्रशासनमा रहेका नीतिगत तथा व्यावहारिक अस्पष्टता हटाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

संघको गत शुक्रबार सम्पन्न साधारणसभाबाट अध्यक्षमा निर्वाचित गुरुङले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उक्त धारणा राखेका हुन् ।

आफू अध्यक्षमा निर्वाचित भएपछि केही व्यवसायीले प्राथमिकताका एजेन्डा के–के हुन् ? भनेर आफ्ना भावी प्राथमिकतामा चासो राख्ने गरेका भन्दै अध्यक्ष गुरुङले भने, ‘कतिपयले नयाँ भवन खरिद के हुन्छ ? भनेर प्रश्न राख्ने गर्नुभएको छ । मैले प्रस्ट भनेको छु– नयाँ भवनभन्दा मेरो प्राथमिकता संख्या सय समस्याको समाधान हो । सयको चिन्ता धेरै व्यवसायीलाई छ, असारसम्म नभई वैशाख महिनामा नै हुने वातावरण बनाउन पहल गर्छु ।’

अध्यक्ष गुरुङले केही व्यवसायी नेताहरूमा दिनको १० पल्ट ढाँट्ने र २० पटक कसम खाने बानी समस्याको रूपमा रहेकोे भन्दै आफूले त्यसो नगर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘म ढाँट्दा पनि ढाँट्दिनँ, कसम पनि खान्नँ । अध्ययन गरेर  निर्णय गरेपछि पछि पनि हट्दिनँ ।’

अध्यक्ष गुरुङले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, सम्मानित र मर्यादित बनाई नयाँ पुस्ता अझ भनौं छोरा छोरी पुस्तालाई हस्तान्तरण गर्ने विषय पनि आफ्नो प्राथमिकताको विषय भएको उल्लेख गरे । त्यसका लागि व्यवसायीहरूमा पनि आचारसंहिता मान्ने, अनुशासनमा रहेर काम गर्ने इमान्दारी देखिनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘जायज कुरामा म चौबीसै घण्टा व्यवसायीका पक्षमा छु तर पासपोर्ट लग्यो, यता–उता आइज भनियो भने म आउनेवाला छैन ।’

उनले व्यवसायीका समस्या समाधान गर्नका लागि वैदेशिक रोजगार विभागमा खटिएर काम गर्ने संघका प्रतिनिधि व्यवसायीका लागि पनि आचारसंहिता तोक्ने योजना रहेको बताए । 

No description available.

अध्यक्ष गुरुङले संघले गर्ने सल्लाहकारहरूको नियुक्तिका विषयमा पनि नयाँ तरिकाले सोच्ने बताए । उनले भने, ‘वैदेशिक रोजगार विभागमा २६ वटा महानिर्देशक परिवर्तन भइसके तर संघमा कोहि बर्षौं देखि सल्लाहकारको सल्लाहकार बनिरहेका छन् परिवर्तन भएका छैनन् । कतिपय सल्लाहकारले विधानविपरीत संघको साधारणसभा सार्ने सल्लाह दिएका छन् । तर, उनीहरू नै सल्लाहकार भएर बसेका छन् । अब पहिले जस्तो गरी संघलाई चलाउने छैन ।’

उनले संघ प्रभावकारी बनाउन कार्यसमिति सदस्यहरूको कसैसँग अनुचित साँठगाँठ नहोस् भनेर आचारसंहिता तोक्ने र तोकिएको आचारसंहिताविपरीत काम गरे अनुशासनको कारबाही गरिने बताए ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्र पौडेल विशिष्ट अतिथि वक्ता थिए । अतिथि वक्ता पौडेल समक्ष अध्यक्ष गुरुङले अनुगमनको नाममा विभागबाट भएको व्यवहारप्रति असन्तुष्टि जनाए ।

विभागले नियमित र गुनासो आएपछि  अनुगमन गर्ने गरेको छ । अनुगमन जानुपर्ने हो भने संघको प्रतिनिधि राखेर अनुगमन गरेर छानबिन गरी गलत गर्ने व्यवसायीलाई कारबाही गरे संघले गुनासो नगर्ने तर तोकिएको कार्यविधिविपरीत अनुगमन संघलाई मान्य नहुने उनले अडान राखे । 

अध्यक्ष गुरुङले युरोपेली मुलुकमा संस्थागत रूपमा जाँदा पलायन बढ्छ भनेर मागपत्र प्रमाणीकरण नगर्ने प्रवृत्तिलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले प्रश्न गरे, ‘व्यक्तिगत रूपमा जाँदा पलायन हुँदैन ?’ 

त्यसैगरी अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐनमा महानिर्देशकले कारबाही गर्ने तर उक्त कारबाही उपर मन्त्रीले पुनरावेदन गर्ने हालको व्यवस्था अव्यावहारिक भएको भन्दै त्यसलाई परिवर्तन गर्न संघ अग्रसर हुने बताए ।

अध्यक्ष गुरुङले फ्री भिसा, फ्री टिकट लागू गर्ने सम्बन्धमा मन्त्रालयले लिएको नीतिको पनि आलोचना गरे । उनले भने, ‘कुवेतबाट लागू गराऔं, हाम्रो सहमति छ ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेसले सबैसँग समन्वय गरेर व्यवसायीले उठाएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । 

विभागका निर्देशक पौडेलले व्यवसायी देशको अर्थतन्त्रको मेरुदण्ड, करदाता भएकाले आफू संघमा काम गरेको १ महिनाको अनुभवका आधारमा विधि, नीति र पद्धतिमा रहेर विभाग व्यवसायीको काँधमा काँध, साथमा साथ बनेर सहकार्यमा जानुपर्छ भन्ने निष्कर्षमा पुगेको बताए । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका प्रथम उपाध्यक्ष विनोदजंग केसीले व्यवसायीलाई सुरक्षित अवस्थामा काम गर्ने वातावरण बनाउन नवनिर्वाचित अध्यक्ष र कार्यसमिति समक्ष आग्रह गरे ।

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशीले चुनावी प्रतिस्पर्धा छाडेर वैदेशिक रोजगारमा जाने कामदार र व्यवसायीका हितमा काम गर्ने योजना बनाउन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।

कार्यक्रमका सभापति एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले संघको निर्वाचनमार्फत नयाँ टिमले व्यवसायीका समस्या समाधान गरेर नयाँ आशाको संचार गराउन सुझाव दिए । 

स्वागत मन्तव्य राख्दै समितिका उपाध्यक्ष तारानाथ अर्यालले संख्या सय समस्या समाधान, नयाँ गन्तव्य खोजेर मागपत्र प्रमाणीकरणमा सहजीकरण गरी हाल वैदेशिक रोजगार  नियमावलीले वैदेशिक रोजगार ऐनलाई संचालन गरिरहेकाले त्यसलाई परिमार्जन गर्ने भूमिका खेल्न नवनिर्वाचित नेतृत्वको ध्यानाकर्षण गराए ।

दमक नगरपालिकाकी उपमेयर रेजिना पाण्डे, समितिका सल्लाहकार भिजन एन्ड भ्याल्यु ओभरसिज प्रा. लि.का संचालक पदमराज पौडेल, वैदेशिक रोजगार व्यवसायी महिला संघकी महासचिव हिरा देवी बुढाथोकी, संघका पूर्व प्रथम उपाध्यक्ष किशोर केसी, वैदेशिक रोजगार व्यवसायी विश्वकर्मा समाजका प्रतिनिधिलगायतको उपस्थिति रहेकोे कार्यक्रममा संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्र प्रदान गरिएको थियोे । कार्यक्रम समितिका सचिव लक्ष्मण पौडेलले संचालन गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise