प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र भौगोलिक वातावरणका कारण पर्यटकका लागि नेपाल आकर्षणको केन्द्र हो । विश्वभरबाट नेपाल आउने पर्यटकका लागि नेपाल सुन्दर देशका रूपमा चित्रित गरेको पाइन्छ । ८ हजारभन्दा माथिका हिमाल, पहाड र तराईको समथर भू–भागदेखि प्रत्येक १० किलोमिटरमा हुने मौसम परिर्वतन जस्ता कारणले नेपालकाे पर्यटकीय गन्तव्य साँच्चै नै रमणीय छ ।
विश्वमै अग्लो स्थानमा रहेको सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुहरू एक पटक पुग्नै पर्ने पशुपतिनाथ मन्दिर, राष्ट्रिय निकुञ्ज, नदीनाला, ताललैयालगायतका कारणले प्राकृतिक र धार्मिक पर्यटकलाई नेपाल ल्याउन सक्ने हो भने नेपाल पर्यटन क्षेत्रबाट एक दशकमै समुन्नत बन्न सक्छ ।
नेपाललाई प्राकृतिले नै अनुपम सौन्दर्य दिएको छ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म हरेक स्थानको आफ्नै महत्त्व छ । देशभरमै आफ्नो–आफ्नो पहिचान दिन सक्ने स्थान छन् । जुन कुनामा गए पनि प्राकृतिक मज्जा पर्यटकले लिन सक्ने स्थान छन् ।
त्यसैले, नेपाल पर्यटक भित्र्याउनेतर्फ मात्र केन्द्रित हुने हो भने नेपालबाट दिनहुँ २ हजारभन्दा बढी जनशक्ति रोजगारीका लागि खाडी मुलुकमा जानुपर्ने थिएन । नेपालको पर्यटकको बजारका लागि हाम्रा २ छिमेकी मुलुक भारत र चीनमा मात्र केन्द्रित हुन सकिन्छ । २ देशको जनसंख्याको १ प्रतिशतलाई मात्र नेपाल ल्याउन सक्ने हो भने नेपालमा पर्यटकको चाप थाम्न नसक्ने अवस्था हुन्थ्याे ।
त्यस्तै, सार्क मुलुकदेखि युरोप, अमेरिकालगायतका स्थानमा सधैं आउने पर्यटकसमेत नेपाल ल्याउनका लागि केही प्याकेजका कार्यक्रम मात्र बनाइदिने हो भने हामी पर्यटकका लागि चिन्ता लिनुपर्ने अवस्था छैन । पछिल्लो समय नेपालमा जसरी पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा लगानी भएको छ, निजी क्षेत्रले पर्यटन क्षेत्रमा धेरै नै सम्भवना देखेका छन् ।
पर्यटन क्षेत्रलाई दीर्घकालीन रणनीतिअनुसार विकास गर्ने हो भने नेपालको आर्थिक समृद्धिको आधार नै पर्यटन क्षेत्र बन्ने निश्चित छ । पछिल्लो समय नेपालमा तारे होटल र विश्वका चर्चित तारे चेन होटलहरूसमेत भित्रिरहेका अवस्थामा पर्यटक आगमनका लागि प्रचारप्रसार गरिरहेकै देखिन्छ ।
लगानीकर्ताले देशैभर होटलमा लगानी गरिरहेका छन् । उनीलाई आत्मविश्वास र थप लगानी गर्न उत्सुक बनाउनका लागि सरकारको पहिलो प्रथामिकता पर्यटन उद्योग हुन आवश्यक छ । तारे होटलको संख्या बढ्दै जाँदा उच्च प्रोफाइलका पर्यटकसमेत भित्र्याउन सकिएको छैन । खर्बाैंको लगानी गरेर खोलिएको पाँचतारे होटलदेखि गेस्ट हाउससम्ममा लगानी गरेका व्यवसायी अहिले पर्यटकलाई होटलमा स्वागत गर्न आतुर छन् ।
नेपालका प्रमुख पर्यटकीय शहर काठमाडौं, पोखरा, चितवन, नेपालगन्जदेखि रारासम्म नै होटल, रिसोर्ट बन्ने क्रम बढ्दो छ । अब देशको समुन्नतिका लागि पर्यटन उद्योगका पूर्वाधारमा ध्यान दिन जरुरी छ । हाम्रोमा पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्तीको असर पर्यटन क्षेत्रले भोगिरहेको छ । लुम्बिनी, पोखरालगायत ग्रामीण क्षेत्रमा जाने सडक पूर्वाधारको अवस्था दयनीय नै छ ।
पूर्वाधारमा विकासको गति कम हुँदा नेपाल घुम्न आउने पर्यटकले सास्ती खेप्नुपरेको वर्षाैं भयो । हवाई यात्रासमेत त्यति सहज छैन । पर्यटकलाई यात्रा असहज हुँदा नेपालप्रतिकै धारणा नकारात्मक बन्न नदिनसमेत पूर्वाधारमा लगानी गर्न धेरै नै बाँकी छ ।
कोभिड– १९ महामारीले पारेको असर अझै पर्यटन क्षेत्रमा परेको छ । अन्य मुलुकहरू पर्यटन क्षेत्रलाई पुनरुत्थान कार्यक्रम ल्याएर अगाडि बढे पनि नेपालले ठोस पहलकदमी देखाउन नसक्दा पर्यटक आगमन बढ्न सकेको छैन । पछिल्लो समय शहरमा मात्र नभएर प्राकृतिक सुन्दरता भएका डाँडाकाँडा भएका स्थानमा होमस्टेदेखि रिसोर्टसमेत खुलिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत स्तरोन्नति हुन समय लागिरहेको छ ।
छिमेकी मुलुकहरूले पर्यटक आफ्नो देशमा ल्याउनका लागि विभिन्न प्याकेजसहित योजना बनाइरहँदा नेपाल भने गम्भीर देखिएको छैन । देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने पर्यटन क्षेत्रबाट नेपालले लाभ लिन सकेकै छैन । निजी क्षेत्रको जोडबलले पर्यटन उद्योग गतिशील भएको छ । त्यसमा सरकारले साथ दिने हो भने नेपालको पर्यटन क्षेत्रलाई देशको समुन्नतिको बलियो आधार बनाउन सकिन्छ ।