२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

यो वर्ष व्यापक सुधारको वर्ष हुने मन्त्री भण्डारीको भनाइ, व्यवसायीलाई स्वर्ण युगमा फर्काउने अध्यक्ष गुरुङको प्रतिबद्धता

draupadi film
२०८२ वैशाख ५ गते ०६:१५
यो वर्ष व्यापक सुधारको वर्ष हुने मन्त्री भण्डारीको भनाइ, व्यवसायीलाई स्वर्ण युगमा फर्काउने अध्यक्ष गुरुङको प्रतिबद्धता

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नववर्ष २०८२ वैदेशिक रोजगार प्रशासनका लागि सुधार र आधुनिकीकरणको वर्ष हुने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई, शुभकामना तथा सम्मानका लागि बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा रहेका  समस्या समाधान र सुधारका लागि महत्वपूर्ण प्रयास सुरुवात गरिएको बताएका हुन् ।

संघको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाईका लागि मन्त्री आफैंले श्रम मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधी समाजले बसुन्धारामा छुट्टाछुट्टै कार्यक्रम राखेका थिए ।

मन्त्री भण्डारीले दुवै कार्यक्रममा नीतिगत र कानुनी समस्याहरूको समाधानका लागि वैदेशिक रोजगार ऐन २०६४ को संशोधन तथा व्यवहारिक समस्याहरूको समाधानका लागि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच त्रिपक्षीय संयन्त्र बनाइ काम भइरहेको बताए ।

मन्त्री भण्डारीले मागपत्र प्रमाणीकरण, सेवा शुल्क परिमार्जन, संख्या सय समस्याको समाधान, नयाँ श्रम गन्तव्य मुलुकहरूको खोजी, घरेलु कामदारको श्रम स्वीकृतिमा रहेकोे प्रतिबन्धको खारेजी जस्ता विषय विगत १ वर्षअघिदेखि निरन्तर उठेको भन्दै मन्त्री भण्डारीले ती समस्या समाधानका लागि ऐन संशोधन र अन्तर मन्त्रालय समन्वयको पहल भएको उल्लेख गरे ।

मन्त्री भण्डारीले समस्या समाधानका लागि मन्त्रालय तयार भएपनि कतिपय व्यवसायीहरू वैदेशिक रोजगारमा जाने कामदारप्रति इमानदार नभएको गुनासो आएकाले समस्या र परस्परमा अविश्वास पनि सँगसँगै गाँसिएको टिप्पणी गरे ।

उनले भने, ‘व्यवसायीहरूलाई कामदारप्रति इमानदार हुने समस्या छ । वास्तवमा व्यवसायी आफूले पठाएका कामदारहरू पूर्णरूपमा इथिकल र इमानदार भइदिने हो भने मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृति केही पनि चाहिने विषय होइनन्, सबै विषय हटाउन मन्त्रालय तयार छ । तपाईंहरू आफूले पठाएका कामदारप्रति समाजले अनुभूत गर्ने गरी इमानदार हुनुपर्‍यो ।’

श्रममन्त्री भण्डारीले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायीको योगदानको कदर गर्न सरकार तयार रहेको भन्दै संख्या सयलगायतका समस्या समाधानको काम अघिल्ला २ वर्ष आफूले नै गरेको भन्दै वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसदको अधिवेशनले त्यससम्बन्धी विधेयक पारित गर्ने बताए । उनले यसपटक कुनै समस्या नरहने आश्वासन दिए । यसअघि संघको साधारणसभामा १ महिनाभित्र मागपत्र प्रमाणीकरणका समस्या समाधान हुने वचन दिएका मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐन र सुशासन ऐनले ७ दिनभित्र निर्णय गर्नुपर्ने बाध्यताले समस्याको समाधानमा सहयोग पुग्ने दाबी गरे । 

प्रोटोकल मिलाएर महिलाबाहेक घरेलु कामदार अन्तर्गत ड्राइभर, कुक, मालीलगायतको श्रम स्वीकृति खुलाउने पहल अन्तिम अवस्थामा पुगेको पनि मन्त्री भण्डारीले जानकारी दिए । 

तमुधी समाजको सम्मान कार्यक्रममा संघका अध्यक्ष भुवनसिंह गुरुङले करिब २ दशक लामो अवधिमा आफू कहिले पनि दिग्भ्रमित नभएको र लोभलालचमा नफसेको भन्दै प्रचारप्रसार भन्दा परिणाममुखी भइ वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधान गरेर व्यवसायीलाई स्वर्णिम युगको अनुभूति गराउने बताए । उनले वैदेशिक रोजगारलाई सम्मानित पेशाको रूपमा स्थापित गरेर युवालाई पेशा हस्तान्तरण गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेकोे बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा समाजका संरक्षक निर्मल गुरुङले संघको नयाँ नेतृत्व  वैदेशिक रोजगार व्यवसायी र जाने कामदारको समस्या समाधानमा पूर्वअध्यक्षहरू भन्दा प्रभावकारी हुनुपर्ने बताउँदै व्यवसायी र कामदारको हितमा ठूलो सन्देश जाने गरी काम गर्न मन्त्री भण्डारीलाई सुझाव दिए ।

स्वागत मन्तव्य राख्दै संघका पूर्वअध्यक्ष तथा समाजका सल्लाहकार रोहन गुरुङले इजाजतपत्रका लागि व्यवसायीले धरौटी राख्दा ब्याजको २५ प्रतिशत पाउने भनिएकोमा कार्यविधि निर्माणको चरणमा कर्मचारीले अनुचित चलखेल गरेका कारण व्यवसायीको हितमा नदेखिएको बताए । उनले ऐन संशोधनलगायतका सुधारका क्रममा धरौटीको ब्याज व्यवसायीले प्रत्यक्ष रूपमा पाउने व्यवस्थाका लागि ठोस् पहल गर्न संघको नवनिर्वाचित नेतृत्वलाई आग्रह गरे । 

कार्यक्रमका सभापति तमुधी समाजका अध्यक्ष तीर्थबहादुर गुरुङले वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन सरकार, व्यवसायी र कामदार तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै एनजीओ आईएनजीओहरूको अनावश्यक प्रवेशले समस्यालाई गिजोलेकाले त्यसमा गम्भीर हुन मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा राष्ट्रिय गुरुङ परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्वअध्यक्ष एवं सल्लाहकार शमशेरबहादुर गुरुङ, सल्लाहकार चन्द्रबहादुर गुरुङ र रेशम गुरुङ, संघका पूर्वअध्यक्ष ताराप्रसाद भट्टराई, तिलकबहादुर रानाभाट र हंशराज वाग्ले, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएनका अध्यक्ष दीपक थापा, ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष नवराज केसी, वैदेशिक रोजगार किराँत राई यायोख्या समाजका अध्यक्ष चन्द्रप्रसाद राई, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीको उपस्थिति रहेको थियो ।

त्यसैगरी वैदेशिक रोजगार व्यवसायी नेवा समाज तथा घरेलु कामदार सरोकार समाजका अध्यक्ष किसान प्रधान, वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जन, धौलाश्री समाजका अध्यक्ष रविन शेरचन, वैदेशिक रोजगार व्यवसायी मगर समाजका अध्यक्ष पदम आलेलगायतको उपस्थिति रहेकोे थियो । 

कार्यक्रममा कार्यसमिति पदाधिकारी तथा सदस्यसहित महिला व्यवसायी संघकी अध्यक्ष प्रतिमा महर्जनलाई पनि सम्मान गरिएको थियो । तमुधींका कोषाध्यक्ष तथा सचिवको जिम्मेवारीमा रहेका सञ्जु गुरुङले सञ्चालन गरेको कार्यक्रममा कलाकारहरूले गुरुङ जातिको भेषाभूषामा पहिचान झल्काउने सांस्कृतिक प्रस्तुति देखाएर सम्मान कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise