कपिलवस्तु : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको वर्तमान सरकारको हरेक कदम जनता र राष्ट्रको विपक्षमा गएको आरोप लगाएका छन् ।
कपिलवस्तुको कृष्णनगरमा शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गरे ।
उनले भने, ‘यो सरकारको काम भ्रष्टाचारीलाई कारवाही गर्नु होइन, रक्षा गर्नु हो ।’
‘राम्रो काम गर्ने कर्मचारीलाई बर्खास्त गर्नु, नराम्रो काम गर्नेलाई खोजी खोजी पुरस्कार दिनु यो सरकारको काम हो । गएको केही महिनामै देखिसकेका छौं, कुलमानजस्तो लोडसेडिङ गर्नेलाई अपमानजनक ढंगले हटाउने काम भयो । सरकारका हरेक क्रियाकलाप राष्ट्रको विपक्षमा गइरहेको छ’, उनले भने ।
उनले यो सरकार बनेपछि छिमेकीहरूसँगको सम्बन्ध कमजोर भएर अन्तरौष्ट्रिय स्तरमै नेपालको इज्जत खस्केको जिकिर गरे । उनले संख्याको बलमा सरकारबाट आफूलाई हटाएको दाबी गर्र्दै आफूले विश्वासको मत लिएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने बताए ।
दाहालले वर्तमान सरकार विचौलियाको चङ्गुलमा परेको पनि आरोप लगाए । सत्ता साझेदार दलका नेताहरू मात्रै होइन। सरकारकै मन्त्रीहरू असन्तुष्ट भएको र सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
उनले केही विचौलियाहरूको चलखेलले विकास निर्माणका कार्यहरू अवरुद्ध भइरहेको पनि जिकिर गरे । ‘देशमा विकासको गति तीव्र बनाउन विचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ,’ प्रचण्डले भने ।
उनले झापाबाट सुरु गरिएको हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह ल्याएको दाबी गरे । उनले आफू भारत गएपछि हुलाकी मार्ग निर्माणको मार्ग प्रशस्त भएको उल्लेख गर्दै उक्त मार्ग नागरिकको आर्थिक समृद्धिसँग जोडिएको बताए ।