२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

कांग्रेसले संघ र एसोसिएसनलाई ‘मिसन रोजगारी’ राष्ट्रिय अभियानको प्रमुख हिस्सेदार बनाउने

draupadi film
२०८२ वैशाख ६ गते ०६:२०
कांग्रेसले संघ र एसोसिएसनलाई ‘मिसन रोजगारी’ राष्ट्रिय अभियानको प्रमुख हिस्सेदार बनाउने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न पार्टी गम्भीर रहेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई ‘मिसन रोजगारी’ राष्ट्रिय अभियानको प्रमुख हिस्सेदारका रूपमा अगाडि बढाउने बताएका छन् ।

संघको नवनिर्वाचित कार्यसमितिका लागि बधाई तथा शुभकामनाका लागि शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त जानकारी दिएका हुन् । कांग्रेसले गत फागुनमा ‘हामी सक्छौं’ भन्ने मूल नारासहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको उक्त अभियानले मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्ने लक्ष्य लिएको छ । शुक्रबारको कार्यक्रममा महामन्त्री थापाले केही वर्षयता रोजगारी र उद्यमशीलता सिर्जना गर्ने निजी क्षेत्रलाई हतोत्साहित गर्ने प्रवृत्ति बढेको र वैदेशिक रोजगारीको क्षेत्र त्यसको शिकार भएको भन्दै अब त्यसो हुन नदिने बताए । उनले भने, ‘रोजगारी र उद्यमशीलता सिर्जना गर्ने निजी क्षेत्रलाई सम्मानित गर्ने वातावरण बनाउने पार्टीको योजना छ ।’

मिसन रोजगारी भन्ने राष्ट्रिय अभियानको एउटा अभिन्न अंग वैदेशिक रोजगारी पनि रहेकोे भन्दै महामन्त्री थापाले भने, ‘हामी वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र होइन मानव संशाधन व्यवस्थापन गर्ने महत्वपूर्ण हिस्सेदारका रूपमा अगाडि बढाउने छौं ।’

महामन्त्री थापाले नेपाली कांग्रेसले नेपालमा रहेको बेरोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए । उनले भने, ‘मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभइ समाधान दिनेगरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने अवस्था छ ।’

त्यसैगरी महामन्त्री थापाले वैदेशिक रोजगारीमा पठाउने व्यवसायी र कामदार दुवैलाई सुरक्षित बनाउन यस क्षेत्रलाई थप राम्रो बनाउनुको विकल्प नभएकोमा जोड दिए । 

कार्यक्रममा नेपाली कांग्रेस वैदेशिक रोजगार तथा आप्रवासन समन्वय विभाग प्रमुख तथा केन्द्रीय सदस्य  प्रकाश रसाइली स्नेहीले संघको निर्वाचनमा विगतमा पनि रस्साकस्सी र मतभेद देखिने गरेकाले त्यसलाई बिर्सेर संघ र एसोसिएसनको नेतृत्वले परिणाम निकाल्ने गरी उदारतापूर्वक सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

उनले तत्कालीन कम्युनिस्ट नेतृत्वको सरकारले पार्टीको कार्यालयबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सोच राखेर इजाजतपत्र नवीकरणका लागि गलत तरिकाले सय संख्या र धरौटी बढाएको आरोप लगाउँदै धरौटी रकम घटाउने र व्यवसायीले राखेको धरौटीको नियमित ब्याज पाउने अवस्था बनाउन मन्त्री र प्रधानमन्त्रीको टेबुलमा जान आफू तयार रहेकोे बताए । उनले वैदेशिक रोजगार ऐन संशोधनको अवस्थाले नेतृत्वको क्षमता परीक्षणको समय आएको भन्दै दुवै संस्थाका अध्यक्षहरूलाई खुट्टा नकमाउन आग्रह गरे ।

केन्द्रीय सदस्य रसाइलीले परेको बेला इमानदारिता देखाउन नसकेको भन्दै व्यवसायीको आलोचना पनि गरे । उनले भने, ‘हामी सबैले चारैतिरबाट मरीमरी काम गरेर चुनाव जिताउने, तर पछि पार्टी र विभाग किन चाहियो भन्ने गरेकोे पनि सुनिन्छ । यो मेरो निर्देशन पनि हो, पार्टीको निर्देशनअनुसार काम गर्न अनुरोध छ ।’

उनले एसोसिएसनमा रहेकोे मतभेद पनि मिलाउन आग्रह गरे । उनले भने, ‘संघको चुनावमा फरक–फरक उमेम्दवार हुने नयाँ विषय होइन, मिल्नु मिलाउनुपर्छ । त्यसले मपछि आउने विभागीय प्रमुखलाई सहज हुनेछ ।’

विभाग प्रमुख रसाइलीले विभागीय मन्त्रीले विभिन्न देशको रोजगारीमा दुई–चार व्यवसायीलाई खल्तीमा हालेर अगाडि बढ्ने सुनिएकाले त्यस्तो अवस्थामा कांग्रेस हेरेर नबस्ने चेतावनी दिए । उनले  शैक्षिक कन्सल्ट्यान्सीले वैदेशिक रोजगारमा पठाउँदा समस्यामा परेकाहरूका कारणले वैदेशिक रोजगार क्षेत्र बद्नाम भएकाले त्यसलाई रोक्न नेपाली कांग्रेस शिक्षा विभाग र सरकारले ध्यानदिनुपर्ने सुझाव दिए ।

उनले प्रतिकूल अवस्थामा संघको नेतृत्वमा अध्यक्षसहित बहुमत सदस्य जिताएको भन्दै  एसोसिएसन अध्यक्ष दीपक थापा, पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटलगायतको योगदानको पार्टीका तर्फबाट उच्च मूल्यांकन हुनेसमेत बताए । 

संघका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारको लागत निर्धारण नगरी वैदेशिक रोजगार ऐनमा गरिने संशोधन र सुधारले समस्याको दीर्घकालीन सुधार नगर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ऐन संशोधनको गृहकार्यमा लागेकाले सबै व्यवसायीले सक्दो मिहिनेत गरेर संघमा सुझाव पठाउन आग्रह गरे । अध्यक्ष गुरुङले संघले शुक्रबार बोलाएको ऐन संशोधनसम्बन्धी पूर्वअध्यक्षहरूको छलफलमा अपेक्षा अनुसारको सहभागिता नभएको भन्दै व्यवसायी सबै व्यस्तता पन्छाएर भएपनि राय सुझाव पठाउन जरुरी रहेकोे उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तार, नैनसिंह महर, एसोसिएसनका संस्थापक तथा संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, हंसराज वाग्ले, बलबहादुर तामाङलगायतले संघको नेतृत्वको अगाडि ऐन संशोधनको जटिल काम रहेकोे भन्दै गम्भीर र सतर्कता अपनाउन सुझाव दिए ।

एसोसिएसनका अध्यक्ष थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनोदजंग केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन गरेका कार्यवाहक महासचिव तुलसी पुरीले संघको नेतृत्वलाई खबरदारी सुरुवात भइसकेकाले प्रभावकारीरूपमा काम गर्न सुझाव दिए । कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्ष किरण किशोर घिमिरे, यमबहादुर केसी, नरेन्द्रप्रसाद ढकाल, नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधी समाजका अध्यक्ष तीर्थबहादुर गुरुङ, नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जनसहित नेपाली कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि रहेका व्यवसायीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा एसोसिएसनले प्रकाशित गरेको नववर्ष २०८२ को क्यालेन्डर पनि विमोचन गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise