काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, वरिष्ठ कवि तथा गीतकार भूपाल राईको निबन्ध संग्रह 'शब्द सायारेम’ लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठानको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, प्रसिद्ध लेखक खगेन्द्र संग्रौला, समाजशास्त्री डा.डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले उक्त कृतिको सामूहिक लोकार्पण गरेका थिए । 'शब्द सायारेम' उत्पीडन र दमनविरुद्ध रचिएको एक वैचारिक निबन्ध संग्रह हो ।
कुलपति राईले कार्यक्रमका वक्ता र उपस्थित व्यक्तिलाई विशेष आभार व्यक्त गर्दै ‘शब्द सायारेम’ कवि तथा चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको संग्रह भएको बताए । उनले सायारेमको अर्थ ढलेको शिर उठाउने रहेको बताए । सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा ढलेको स्वत्वलाई उठाउनु अनिवार्य रहेको उनले बताए ।
`शब्द सायारेम´बाट निबन्धकारको परिचय बनाएका कुलपति राईलाई विश्लेषक खगेन्द्र संग्रौलाले ‘तानाशाहलाई प्रश्न गर्ने बहुला’को संज्ञा दिँदै बागी विचार सिर्जना गरेर भाषिक सांस्कृतिक दमनविरुद्ध सभ्यताको खोजी र नयाँ विकासको आधारस्तम्भ खडा गर्न सफल रहेको बताए । संग्रौलाले कृतिमा कोलम्बस र पृथ्वीनारायण शाहबारे जे जस्ता प्रश्नहरू गरिएका छन् ती सबै निर्भय र साहसिक लेखन भएको बताए ।
अध्यक्ष डा.गोपाल ठाकुरले ‘तपाईंको पहाड घर कहाँ हो ?’ शीर्षकको निबन्धलाई गैरमधेशीबाट मधेशी समुदायमाथि भएको दमनको यथार्थ चित्रण भएको बताए । उनले यस निबन्धलाई दृष्टिविहीनका लागि आँखा दानसँग तुलना गर्दै नेपाली भाषाको महत्त्व र भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थालाई तोड्नुपर्नेमा जोड दिँदै कृति त्यस भाष्यविरुद्ध रहेको बताए ।
समाजशास्त्री डा. डम्बर चेम्जोङले कृतिको साजसज्जाबारे प्रशंसा गर्दै सामाजिक इतिहास र शब्दको महत्त्वबारे प्रकाश पारेका थिए । उनले कुलपति राईको लेखनमा पुर्खाहरूको स्मृति, जीवनको ऐतिहासिकता र वैचारिक पक्षको सबल चित्रण रहेको बताएका थिए ।
इतिहासविद् भोगिराज चाम्लिङले ‘पहाड घर कहाँ हो ?’ निबन्धमा नेपाली समाजको सिंगो चित्रण भएको बताए । उनले कुलपति राईको स्वभाव र निबन्धलेखन शैलीलाई किरातीहरूको साकेला नाचसँग तुलना गर्दै उत्कृष्ट कृति भएको बताए ।
साहित्यकार कुमारी लामाले कुलपति राईका कविताले इतिहास खोज्न प्रेरित गरे जस्तै ‘शब्द सायारेम’ विचार र भावनाको जब्बर निबन्ध संग्रह भएको बताइन् । उनले यसमा रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिसँग कृति एकाकार रहेको बताइन् ।
बुकहिलका सञ्चालक तथा प्रकाशक भुपेन्द्र खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।