काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच द्विपक्षीय छलफल गरेका छन् ।
बुधबार राजधानीमा भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली श्रमिकको पक्षमा दीर्घकालीन हित हुने विषय प्रस्ताव गरे । नेपाली अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रीकोे निजी सचिवालयले जनाएको छ ।
पछिल्लो समय अध्ययन गन्तव्यको रूपमा पनि विकास भएको यूएईमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र निर्माण गर्न भौतिक पूर्वाधारसहित आवश्यक तालिम उपकरण उपलब्ध गराइदिन पनि मन्त्री भण्डारीले आग्रह गरेका छन् । उनले यूएईमा कार्यरत नेपाली कामदारको हकमा २४ घण्टा काम गर्दा बिमा लागू हुनुपर्ने प्रस्ताव गरे ।
त्यसैगरी, नेपाली कामदारले पारिश्रमिक रेमिट्यान्समार्फत रकम नेपाल पठाउँदा लाग्ने चर्काे शुल्क घटाउन आग्रह गरे । मन्त्री भण्डारीले यूएईमा रहेका कम्पनीले कर्पाेरेट सामाजिक उतरदायित्व अन्तर्गत नेपाली कामदारका लागि स्वास्थ्य, शिक्षा विकासका लागि खर्च गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गरेको जनाइएको छ ।