काठमाडौं : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच १७ वैशाखमा एकता हुने भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले दुई पार्टीबीच १७ वैशाखमा एकता घोषणा गर्ने ग तयारी भएको बिहीबार जनाएको छ ।
सचिवालयले नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुने दाबी गरेको छ ।
यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए ।
जनमतका अध्यक्ष राउतले यो एकीकरण जनताको आकांक्षा र दबाबबाट प्रेरित रहेको उल्लेख गरे । राउतले आफ्नो फेसबुकमा लेखेका छन, ‘धेरै पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बिचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ ।’
नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहने छन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको छ । पार्टीको नाम ‘जनमत पार्टी’ रहनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ ।
पार्टी एकता भएपछि संघीय संसदमा एकीकृत पार्टी छैटौँ ठुलो दल हुनेछ । संसदमा एकीकृत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
दुवै पार्टीका बिचमा एकता भइसकेपछि पूर्वको कमान्ड राउतले गर्नेछन् भने पश्चिमको कमान्ड चौधरीले गर्ने सहमति भएको छ । पूर्वी मधेशमा राउतको पार्टी बलियो छ भने पश्चिम मधेशमा चौधरीको पार्टी बलियो छ ।