काठमाडौं : विभिन्न युरोपेली मुलुकमा पठाउने भन्दै आफ्ना देशका नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा बंगलादेशका ५ जना नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरूमा ४१ वर्षीय मोहमद फर्साद हुसैन चौधरी, ५० वर्षीय मोहमद मुस्ताफिजुर रहमान, ४० वर्षीय अजिम मोलिक र ४६ वर्षीय अबु युसुफ एमडी हान्सिफ रहेका छन् ।
प्रतिव्यक्ति ३ हजार ५ सय अमेरिकी डलर लिएर आउन भन्दै नेपाल बोलाएर उनीहरूले अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको उक्त कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । पक्राउ परेकाहरूले ३८ जना बंगलादेशीलाई ठगी गरेको प्रहरीको भनाइ छ ।