२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

लघुकथा : अन्तिम इच्छा

२०८२ वैशाख १३ गते ०६:२०
लघुकथा : अन्तिम इच्छा

-परशुराम पराशर 

‘हजुरबा, अब आउने चुनावमा तपाईं नउठ्नुस् । अब त नयाँ पुस्तालाई उठ्न दिनुस् क्या ! तपाईं चुप्प लागेर बस्नुस्’, दिनेशले हजुरबालाई भन्यो ।

‘अँ, तैं नाथेले भनेर म चुप लागेर बस्छु नि ! याँ आफूलाई अझै १–२ चोटि मन्त्री हुन मन छ’, बूढाले भने । 

‘हैन, ए हजुरबा ! तपाईंले मात्र मन्त्री खाएर हुन्छ ? बुबा, काकापछि दाइहरूको पालो कहिले आउला ? उनीहरूपछि हामीलाई पनि मन्त्री हुने रहर पूरा गरौंला भन्ने छ । अब त भएन है !’, दिनेशले कुरा राख्यो ।

‘चुप लाग् ! सानो मान्छे भएर धेरै नबोल् !’, बूढाले खोक्दै भने ।  

‘अब पनि के मन्त्री हुन्छु भन्नुभएको त ! काम गर्न भने सक्नु छैन । बोल्दा पनि के–के बर्बराउनुहुन्छ । न बोलेको बुझिन्छ, न त कान राम्ररी सुन्नुहुन्छ । औषधिको भरमा बाँच्नुभएको मान्छेले देश चलाउँछु भन्ने नै होइन नि ! अब त हरि भजन गाएर जीवनको उत्तराद्र्ध बिताउनुस् क्या !, दिनेशले भन्यो ।

‘याँ आफूलाई भने मन्त्रीको पदमा बसेरै मर्न मन छ । त्यति मात्र कहाँ हो र ! मेरो वश चल्ने हो भने म मरेपछि पनि मेरो अस्थिपञ्जरलाई मन्त्रीको कुर्सीमा राखेर भए पनि देश चलोस् भन्ने लाग्छ’, बूढाले आफ्नो अन्तिम इच्छा सुनाए ।

ADV

ताजा खबर

सम्बन्धित खबर