काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीको हक, हित, सुरक्षा र संरक्षणका लागि ४ वटा विशेष समिति गठन गरेको बताएको छ ।
संघले द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको संयोजकत्वमा वैदेशिक रोजगार विभाग समन्वय समिति, तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल (वैभव)को संयोजकत्वमा साउदी दूतावास समन्वय समिति, सचिव कुन्छा दोर्जे दिम्दोङको संयोजकत्वमा कम्पनीको सामाजिक उत्तरदायित्व अर्थात् सीएसआर तथा आपतकालीन व्यवस्थापन समिति र कोषाध्यक्ष धनमाया सिंजालीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।
संघका महासचिव महेशकुमार बस्नेतले समस्या तथा आवश्यकताबमोजिम सम्बन्धित संयोजकलाई प्रत्यक्ष सम्पर्क गर्न व्यवसायीहरूलाई जानकारी गराएको बताए ।
विभाग समन्वय समिति संयोजक खोखालीले समितिमा रहने अन्य सदस्यबारे छलफल भइरहेको भन्दै सोमबारबाटै विभागमा समन्वयको काम सुरु गर्ने बताए ।
संघको अघिल्लो कार्यसमितिले तत्कालीन सचिव कर्णराज कटुवालको संयोजकत्वमा १८ जना व्यवसायी विभागमा खटाएको थियोे । कम्तीमा ३ जना व्यवसायीले विभागमा प्रत्येक दिन २ बजेदेखि ५ बजेसम्म उपस्थित भइ म्यानपावर कम्पनीविरुद्ध परेका उद्धार, राहत, फिर्ता तथा क्षतिपूर्तिका उजुरीमाथि अनौपचारिकरूपमा छलफल गरेर सहमति गराइ उजुरी फछ्र्याैटका लागि प्रयास गर्ने गरेका थिए ।
समितिले गर्ने समन्वयका कारणले व्यवसायीविरुद्धका उजुरीको संख्या उल्लेख्य मात्रामा घट्दा विभागले त्यसलाई कार्यसम्पादनमा आफ्नो सफलता र उपलब्धि भन्दै महत्वका साथ प्रचारप्रसार गर्ने गरेकोे थियो । खासगरी वैदेशिक रोजगारबाट करार अवधिभित्र फर्केकामध्ये अधिकांश कामदार व्यक्तिगत कारणले फर्किने गरेका भएपनि स्वदेश आइपुगेपछि क्षतिपूर्तिको माग गर्दै उजुरी दिन हतारहतार विभाग पुग्ने र विभागले पर्याप्त छानबिन बिना नै उजुरी दर्ता गर्दा अनावश्यक झन्झट र तनाब सिर्जना हुने गरेको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ ।
गैरसरकारी संस्था तथा अनधिकृत युट्युबरहरूको उक्साहटमा उजुरी दर्ता गराउनेहरूका कारणले पनि समस्या देखिएकाले यसपटक विभागमा खटिने व्यवसायीलाई समस्या समाधानका लागि प्राविधिक तथा व्यवहारिक सीप बढाउन ओरिएन्टेशन नै दिएर पठाउने तयारी रहेको संयोजक खोखालीले बताए । समितिका अन्य संयोजकहरूले पनि समितिलाई पूर्णता दिएर जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्ने बताएका छन् ।