काठमाडौं : वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त जीवलाल भुसाल जिम्मेवारी सम्हाल्न अनिच्छुक देखिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालयमा तानेर महानिर्देशकदेखि निर्देशकसम्मको सेट परिवर्तन गरेर महानिर्देशकमा जीवलाल भुसाल, उपमहानिर्देशकमा चन्द्रबहादुर शिवाकोटी तथा निर्देशकमा टीका ढकाल र उपेन्द्र पौडेललाई पठाएको थियो ।
उपमहानिर्देशक, निर्देशक जिम्मेवारीमा गएपनि महानिर्देशक भुसाल ३ हप्ताभन्दा बढी समय गुज्रिसक्दा पनि विभाग हाजिर भएका छैनन् । उनले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गरेर विभागमा हाजिर हुन जाने सार्वजनिक रूपमा बताएका छन् ।
तर मन्त्रालय निकट समाचार स्रोतले सचिवमा बढुवाको लाइनमा रहेका सचिव भुसाल विभागको जिम्मेवारीमा जाँदा तलमाथि हुने विश्लेषण गरेर मन्त्रालयमा नै बसिरहेको बतायो । हाल उपमहानिर्देशक शिवाकोटीले विभागको नेतृत्व गरिरहेका छन् ।