काठमाडौं : वैदेशिक रोजगार विभागको सर्भरमा पुनः समस्या आएको छ । केही दिनअघि आएको समस्या समाधान भएको ठानिएको बेला सोमबार दिउँसोदेखि सर्भर डाउनको पुरानो समस्या दोहोरिएको हो ।
विभागमा अचानक विद्युत् आपूर्ति रोकिएछि बन्द भएको सर्भर विद्युत् आपूर्ति सुचारु भएपछि पनि सर्भर चल्न नसक्ने अवस्थामा ‘डाउन’ देखिएको थियो । सर्भरमा समस्या आएपछि वैदेशिक रोजगारका लागि पूर्व तथा अन्तिम स्वीकृति रोकिँदा वैदेशिक रोजगारमा जानुपर्ने कामदार प्रभावित भएका छन् । कतिपयको जहाजको टिकट गुमेको छ । कतिपयले मंगलबारको नियमित टिकट गुमाउने अवस्था छ ।
यसअघि सर्भरमा समस्या आएपछि विभागले श्रम स्वीकृति भएका तर स्टिकर नभएकाहरूलाई वैदेशिक रोजगारीका लागि प्रस्थान अनुमति दिन अध्यागमन विभागलाई पत्र लेखेर उडान समस्या समाधान गरेकोे थियोे । तर यसपटक त्यस्तो पहलसमेत नभएको गुनासो छ । विभागले सन् २०१३ मा अनलाइन प्रणाली जडान गरेको हो । कमजोर स्टोरेज क्षमताको सर्भरमा मेडिकल, अभिमुखीकरण, बैंकलगायत डेढ दर्जन बढी संस्था जोडिएका छन् ।
पटक–पटक समस्या आएपछि सर्भर सञ्चालक ‘भेण्डर’ले पुरानो सर्भरको क्षमता कम भएको जानकारी गराउँदै नयाँ सिष्टम जडान गर्न पटक–पटक जानकारी गराउने गरेकोे, तर विभागको प्रशासनिक नेतृत्वले जिम्मेवारी लिएर मन्त्रालय र अर्थमन्त्रालयमा पहल गरेर बजेट निकास गराउने पहल गर्न नसक्दा वार्षिक १७ खर्बभन्दा बढीको रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगार क्षेत्र अविभावकविहीन जस्तो देखिएको वैदेशिक रोजगार व्यवसायीको गुनासो छ ।
सर्भरलाई चुस्त बनाउनुको सट्टा विभागले श्रम स्वीकृति नभएसम्म विदेश जान टिकट नलिन आग्रह गरेको छ । तर अन्तर्राष्ट्रिय उडानमा श्रम स्वीकृति लिएकै दिन टिकट काटेर उड्नु अत्यन्तै महँगो हुने भएकाले केही समय पहिले नै टिकट खरिद गर्ने गरिएको व्यवसायीहरूको भनाइ छ । विभागको प्रणालीमा समस्या आएपछि प्रशासनिक नेतृत्व आफूहरूलाई प्राविधिक ज्ञान कम हुने भन्दै इन्जिनियरको थाप्लोमा जिम्मेवारी पन्छाएर हिँड्ने प्रवृत्तिले पनि छिटोछिटो र पटक–पटक समस्या आउने गरेको भन्दै कतिपयले सर्भरमा सुधार नहुनु सुनियोजित भएको भनेर गुनासो गर्ने गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विभाग समन्वय समितिका संयोजक देव खोखाली सोमबार सर्भर डाउन भएपछि आफूले निमित्त महानिर्देशक चन्द्रबहादुर शिवाकोटीसँग छलफल गर्दा समस्या समाधानको पहल भएको जानकारी पाए पनि कति समयभित्र समाधान हुन्छ भनेर स्पष्ट जवाफ पाउन नसकेको बताए ।