काठमाडौं : नेपालमा कृषिजन्य उत्पादनको आयात निरन्तर बढीरहेको अवस्थामा चियाको भने निर्यात बढ्दो छ । नेपालमा बढ्दो आयातले व्यापार घाटा चुलिरहँदा चिया निर्यातले भने सकारात्मक सम्भावना देखाएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार नेपालबाट हरेक वर्ष चियाको निर्यात बढीरहेको छ । नेपालबाट पछिल्लो पाँच वर्षमा २१ अर्ब २६ करोड २६ लाख भन्दा बढीको चिया निर्यात भएको बोर्डले जनाएको छ ।
चालु आर्थिक वर्ष (आव) २०८१/८२ मा चार अर्ब ५० करोड रुपैयाँ बराबरको चिया निर्यात गर्ने अपेक्षा गरिएको छ ।
बोर्डको आव २०८०/८१ को तथ्यांकअनुसार नेपालमा कुल २० हजार सात सय ६० हेक्टर जमिनमा चिया रोपिएको छ । नेपालमा १५ हजार दुई सय तीन जना चिया कृषकहरू, एक सय ७१ वटा टी–स्टेट र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत् करिब ६० हजारले रोजगारी पाएको बोर्डले जनाएको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालले तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । चियाको मुख्य सिजनको पहिलो टिपाइ सुरु भएको हुँदा यस वर्ष चार अर्ब ५० करोडको चियाको निर्यात हुने अनुमान गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मुलुकको व्यापारघाटा बढीरहेको अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन, भारतसहित तेस्रो मुलुकमा समेत निर्यातले नेपाली चियामा अपार सम्भावना रहेको बताउँछन् । उनले नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रूपमा रहेको बताए । उनले आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटनसँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आकर्षित गर्ने गरि कार्यक्रम ल्याइने बताए ।
नियार्तसँगै चियामा थप लगानी आकर्षण र चियालाई पर्यटनसँग जोड्ने, अर्गानिक प्रमाणिकरणमा सहयोग गर्ने र स्टार्टप समोर्ट कार्यक्रम अन्तर्गत युवा तथा महिला उद्यमीहरूलाई चियामा आकर्षण गर्न रणनीति बनाउने हो भने चियामा नेपाल आत्मनिर्भर बन्ने देखिन्छ । नेपाली चियाखेतीलाई अझै व्यवस्थित गर्न सक्ने हो भने नेपाल चियामा आत्मनिर्भर बन्न सक्ने देखिन्छ ।