काठमाडौं : चालू आर्थिक वर्षको ९ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा २२६ नेपाली कामदारको ज्यान गएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ । मृत्युदर प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी देखिन्छ ।
गत वर्ष यूएईमा २३१ जना नेपाली कामदारले ज्यान गुमाएका थिए । यस वर्ष उक्त संख्या नाघ्ने आंकलन गरिएको छ ।
यूएईमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायतका कारण नेपालीले ज्यान गुमाउने गरेको नेपाली दूतावासले बताएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजारभन्दा धेरै नेपाली कामदारको मृत्यु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी कमाउन र परिवार पाल्न वैदेशिक रोजगारमा गएका नेपालीहरू हिट ट्र्याप र डेथ ट्रयापमा परी काठको बाकसमा फर्कने समस्या डरलाग्दो बनेको बताउँछन् ।
बढ्दो मृत्युुदर रोक्न मेडिकल रिपोर्टलाई पूर्णरूपमा डिजिटलाइज गरी नेपालमा हुने स्वास्थ्य परीक्षणलाई प्रमाणीकरण गरी प्रि डिपाचर र प्रि डिसिजन ओरियन्टेशन तालिम सञ्चालन गर्ने नीति पनि कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाइ छ ।