२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

दाङमा बाढी : एक जनाको मृत्यु, दुई बेपत्ता

ADV
सपना बोहरा
२०८१ असार २२ गते २१:१६
दाङमा बाढी : एक जनाको मृत्यु, दुई बेपत्ता

दाङ : अविरल वर्षाका कारण आएको बाढीले दाङमा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । शुक्रबारदेखिको अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जनाको उद्धार गरिएको हो । 

राप्ती नदीले बगाउँदा राजपुर गाउँपालिका–२ का १९ वर्षीय राजकुमार यादव शनिबार बिहान लमही नगरपालिका– ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बेपत्ता छन् । उनी बिहानै राजपुरबाट दुध बेच्नका लागि लमही फर्किंदा नदीको बाढिले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै राप्ती नदीले बगाउँदा लमही नगरपालिका–८ बग्रापुरस्थित नयाँ बस्तीका ६२ वर्षीय मनियम चौधरी पनि बेपत्ता छन् । शनिबार बिहान बग्रापुर गएका उनलाई अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले दिउँसोतिर बगाएर बेपत्ता पारेको छ । चौधरीको खोजीमा नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण भालुबाङको टोली खटिएको छ ।  

त्यस्तै राजपुर, २  कै ४० वर्षीय दयाराम यादव र ४८ वर्षीय तुलाराम यादवको भने उद्धार भएको छ । उनीहरू रूखमा चढेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन् । नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेका हुन् ।  

त्यस्तै दाङकै राजपुर गाउँपालिका– ५ सालभौडीस्थित गंगदी खोलामा आएको बाढीले ट्र्याक्टर बगाउँदा स्थानीय छेदुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढी कम भएपछि दिउँसो ट्याक्टर निकाल्ने क्रममा चौधरीको शव ट्याक्टरले च्यापिएको अवस्थामा फेला परेको थियो । खोलाको बाढीले ट्याक्टर बगाउँदा स्थानीय २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय महेश यादव सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise