२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रतिनिधि फर्काएर विधिको छलफल !

ADV
भावना पाठक
२०८१ असार २३ गते ०७:०५
प्रतिनिधि फर्काएर विधिको छलफल !

काठमाडौं : दशौं राष्ट्रिय महाधिवेशनपछि नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक शनिबार बसेको छ । १६ असारदेखि पाँच दिनसम्म प्रज्ञाभवन कमलादीमा चलेको महाधिवेशनपछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । 

यसअघि पोलिट्ब्यूरो सदस्य रहेका नेताहरुलाई केन्द्रीय कमिटी सदस्य बनाउने एकीकृत समाजवादीको सचिवालय बैठकले निर्णय गरेको थियो । त्यसैअनुसार बनेको केन्द्रीय कमिटीको शनिबार बैठक बसेको थियो । 

बैठकले बाँकी पदाधिकारी चयन र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल गरेको छ । प्रवक्ता जगनाथ खतिवडाका अनुसार, केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन गरिनेछ । 

‘केन्द्रीय सदस्य चयनमा पनि मापदण्ड बनाउने कुरा भएको छ । अब एउटा मापदण्ड बनाएर केन्द्रीय सदस्य चयन हुनेछन्’, खतिवडाले भने । महाधिवेशन अगाडि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । 

यो संख्या बमोजिमको कमिटी महाधिवेशन प्रतिनिधिहरुले चयन गर्ने एकीकृत समाजवादीको निर्णय थियो । जसका लागि १८ सय बढी प्रतिनिधि चयन भएका थिए । ७० प्रतिशत भूगोलबाट र बाँकी गैरभौगोलिक कमिटीबाट प्रतिनिधि आएका थिए । 

तर महाधिवेशनले यी प्रतिनिधिहरुको मत उपयोग गरेन । बरु तीन जना नेताको पद सुरक्षित गरेर महाविधेशन प्रतिनिधिहरुलाई घर पठाइयो । महाधिवेशनको बन्दसत्र हलमा माधवकुमार नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव घोषणा भएका थिए ।

यी तीन जनाको नाम हलबाट अनुमोदन भएपछि बाँकी कमिटी चयन गर्ने अधिकार सचिवालय कमिटीलाई दिइएको थियो । जसका लागि एकीकृत समाजवादीले नयाँ कमिटी नआएसम्म पुरानै कमिटी सक्रिय हुने विधान बनाएको छ । 

त्यही विधान बमोजिम पुरानै सचिवालय कमिटीको बैठक बसिरहेको छ । त्यो बैठकले पोलिट्ब्यूरो सदस्यहरुलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । जस बमोजिम बसेको केन्द्रीय कमिटी बैठकले बाँकी केन्द्रीय सदस्य चयनको मापदण्ड बनाउने निर्णय गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise