काठमाडौं : पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाल लामो समयदेखि ब्रेन ट्युमर, पार्किन्सनलगायत रोगबाट पीडित थिए । सहित्यकार तथा बौद्धिक वामपन्थी राजनीतिज्ञको पहिचान बनाएका उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । १ दशकभन्दा लामो समयदेखि उनी राजनीतिक गतिविधिमा सहभागी हुन छाडेका उनी निकट नेताहरूले बताए ।
उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा संचारमन्त्री बनेका थिए । पछि शिक्षामन्त्री पनि भएका नेपाल पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का सल्लाहकार थिए ।
नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्यमा कलम चलाउने गरेका थिए ।
उनका बर्बरिक, एक्काइसौं शताब्दीकी सुम्निमा, देशको खोजी, सञ्जय थापाका कथाहरू, देउमाईको किनारमालगायत दर्जनौं पुस्तक प्रकाशित छन् ।
नेता नेपाल एमाले र माओवादीबीच पार्टी एकता भएदेखि नै निष्क्रिय हुँदै आएका थिए । उनी तत्कालीन नेकपाको पोलिटब्युरो सदस्यमा राखिए पनि कुनै बैठकमा सहभागी भएनन् । नेकपा विभाजनपछि उनी एमालेमा रहेर पनि सक्रिय थिएनन् ।
एमाले विभाजनपछि माधव नेपाल पक्षले उनलाई पार्टीको कमिटीमा राखे पनि स्वीकार गरेनन् बरु एमालेमै सदस्यता नवीकरण गरेर बसेका थिए । उनी कम्युनिस्ट पार्टीहरूको विभाजन र नेतृत्वका गतिविधिसँग असन्तुष्ट थिए ।
दिवंगत नेता नेपाललाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री विष्णु पौडेललगायत कम्युनिस्ट नेताहरूले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
मृत्युपश्चात् श्रद्धाञ्जलि सभा नराख्न र कुनै पार्टीका झण्डासमेत नओढाई सामान्य रूपमा अन्त्यष्टि गर्न गरेको उनको आग्रहअनुसार नेपालको मंगलबार नै पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिएको छ ।
यद्यपि, पूर्वमन्त्रीको हैसियतको सम्मानसहित नेपाल प्रहरीको टुकडीले सलामी दिएर उनलाई अन्तिम बिदाई गरेको छ ।